नवलपुर, मंसिर४ गते । आज कात्तिक शुक्लपक्षको एकादशी तिथि अर्थात हरिबोधिनी वा ठूली एकादशी । हरि भनेका साक्षात् भगवान् विष्णुलाई भनिन्छ भने बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ ।
क्षीर सागरको शेषश्यामा असार शुक्ल एकादशीका दिन शयन गरेका विष्णु भगवान् कात्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्छ ।
यस अवसरमा नवलपुरका विभिन्न तीर्थस्थलहरूमा धार्मिक मेलाको आयोजना गरिएको छ । ठूलो एकादशीका लागि विभिन्न तीर्थस्थलमा मेलासँगै महोत्सव, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको हो ।
एकादशीमा नवलपुरको कावासोती १२ पिठौलीस्थित नारायणी नदीमा ठुलो मेला लागेको छ । परापूर्वकालदेखि नै यहाँ एकादशीमा स्नान गर्ने, तोरण टाङ्ने, भजन कीर्तन गर्नेहरूको घुँइचो लाग्ने गरेको स्थानीय बताउँछन् । पिठौलीमा ठूलो एकादशीमा देशकै ठूलो धार्मिक मेला लाग्ने गरेको यहाँका अगुवाहरूको भनाइ छ ।
एकादशीको अवसरमा यहाँ धार्मिक मेलासँगै व्यापारीका स्टल, सांस्कृतिक कार्यक्रम, डुङ्गा सयर जस्ता मनोरञ्जनका कार्यक्रम पनि राखिएको कावासोती–१२ का वडाध्यक्ष ध्रुव खनाल (दिपेश)ले जानकारी दिए । एकादशीको अघिल्लो दिनबाट नै यहाँ भजन कीर्तनका कार्यक्रम आयोजना गरिएको अध्यक्ष खनालले बताए । यहाँ स्थान गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने क्रम सुरु भइसकेको उनले जानकारी दिए ।
यस्तै कावासोतीकै वडा नं. १५ गुन्द्रही खोलामा पनि एकादशी मेलाको आयोजना गरिएको छ । गुन्द्रही मेला यहाँका थारु समुदायमा प्रचलित रहेको थारु समुदायका अगुवा प्रेम शङ्कर मर्दनियाले बताउनुभयो । गुन्द्रही र बाणखोलाको संगम स्थलमा थारू समुदायले धार्मिक विधि अनुसार पूजाअर्चना र धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरेको उनको भनाइ छ । दुईदिनसम्म लाग्ने यहाँको मेलामा स्थानीय उत्पादन र थारू समुदायको चिच्चर, घोगी, माछाका परिकारहरू प्रदर्शनी गरिन्छ ।
यसैगरी जिल्लाको देवचुली नगरपालिका–१ केउरेनीस्थित नारायणी नदी किनारमा पनि मेलासँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको डेढगाउँमा पर्ने बालीघाटनमा पनि एकादशीमा धार्मिक मेला लागेको छ ।
एकादशीको दिन यहाँका पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला, सखरखण्ड, तरुल, पिँडालु गेडागुडी लगायतका कृषि उत्पादनको खरीद विक्रीसमेत हुने गर्दछ भने तोरण टाङ्ने र भजन कीर्तन गर्ने कार्यक्रमहरु हुँदै आएका छन् । साथै राष्ट्रिय एवं स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुतिहरुपनि देखाउने गरिएको छ ।
यस्तै, हरिबोधनी एकादशी पर्वको अवसर पारेर नवलपुरका विभिन्न स्थानीय तहले आज शुक्रबार सार्वजनिक तथा स्थानीय बिदा दिएका छन् । कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयि त्रिवेणि गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरेर बिदाको घोषणा गरेका हुन् ।









