बोमलाल गिरी
नवलपुर, मङ्सिर २ गते । पहाडको खोँचमा तीनवटा पोखरी छन् । पोखरीमा माछा पौडी खेलिरहेका छन् । तर सितिमिति ती माछा देखिँदैनन् । किनकि माछालाई कुमुदिनीका फूल र पातले सुरक्षा दिइरहेका छन् । वरिपरि फैलिएका हरिया पात, बिचबिचमा देखिने पानीको सतह र पातभन्दा माथि उठेर ढकमक्क फुलेका गुलाबी कुमुदिनीका फूल देख्दा फूलबारीजस्तै लाग्छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिका–४ का बेलबहादुर मर्साङ्गी मगरले माछापालनका लागि बनाएको पोखरीमा ढकमक्क फुलेका कुमुदिनीका फूलले पोखरीको सौन्दर्य मात्र बढाएका छैनन्, साना माछाको सुरक्षासमेत गरिरहेका छन् ।
कुमुदिनीका पातले पानीको सतह छेक्ने भएकाले साना माछाका भुरालाई चराचुरुङ्गीबाट जोगाउन सहयोग पुगेको मर्साङ्गीले बताउनुभयो । पातको आडमा रहेका माछाका भुरालाई चराचुरुङ्गीले सजिलै देख्न र टिप्न नसक्ने भएकाले कुमुदिनीले माछाको सुरक्षा गरिरहेको उहाँको भनाइ छ ।
कुमुदिनीको जीवनचक्र पनि रोचक छ । “केही समयपछि किराले यसको जरा खाएपछि कमल आफैँ हराउँदै जान्छ । जाडोयाम सुरु भएपछि पुनः पलाउने र फुल्ने गर्छ,” मर्साङ्गीले भन्नुभयो ।
यसरी माछापालनका लागि बनाइएको पोखरीमा कुमुदिनीका फूलले प्राकृतिक सुन्दरता थप्नुका साथै माछाको सुरक्षामा समेत सहयोग पुर्याएको हेर्न र फोटो खिच्न अहिले मानिसको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।












