बोमलाल गिरी
नवलपुर, कात्तिक ३० गते । नवलपुरको देवचुली नगरपालिका–१३ का प्रा. डा. उमाकान्त शर्मा पौडेलले ३५ वर्ष अध्यय गरेर लेखेको ग्रन्थ ‘पौराणिक सुभाषित संग्रह’को सोमबार विमोचन गरिएको छ । पौडेलले आफ्नो चौरासी पूजाको अवसर पारेर निवासमै श्रीमद् भागवत महापुराण ज्ञानमहायक्ष लगाई पुस्तक विमोचन गरिएको हो ।
नेपाल सन्त समाज एवं हरिहर सन्याश्रम देवघाटका पिठाधिस स्वामी श्री १००८ ज्ञानान्द सरस्वतीजि महाराज र स्वामी जगन्नाथाचार्यले संयुक्त रुपमा ग्रन्थको विमोचन गरे । ग्रस्थका लेखक डा पौडेलले आफ्ना बुवा र हजुरबुवा पुराणका विद्धान भएकाले त्यसैको प्रेरणाबाट यो ग्रन्थ निकाल्न सफल भएको बताए ।
बुवा, हजुरबुवा लगायत अग्रजहरुले लेखेका सबै १८ पुराण, उपपुराण, मनुस्मिृतीहरु र महात्माहरु ३५ वर्ष लगाएर अध्ययन गरी सरल भाषामा सबैले बुझ्न सक्ने गरी यो ग्रन्थ निकालिएको उनको भनाइ छ । अहिलेसम्म लेखिएका सबै पुराण सबैले बुझ्न नसक्ने भएकाले त्यहाँ भएका उत्कृष्ट श्लोकहरु, आहार–विहार, धर्मकर्म, पूजापाठ र सभ्यताका कुराहरुलाई लेख्न पाए सबै नागरिक र आगामी पुस्ताका लागि हितकर होला भनेर यो कृति तयार पारिएको पौडेलले बताए ।
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा षडानन्द पौडेलले यो कृतिमा संस्कृत भाषा नबुझ्नेहरुका लागि नेपाली भाषामा समेत अनुवाद गरिएको उल्लेख गरे । उनले सबै पुराण, उपपुराण र महात्माहरुबाट सार ग्रहण गरेर समस्त पूर्वीय वाङ्मयको सार खिचिएको ग्रन्थ भएको टिप्पणी गरे । उनले यति धेरै ग्रन्थलाई समावेस गरेर तयार पारिएको ‘पौराणिक सुभाषित संग्रह’ अहिलेसम्मकै पहिलो भएको दावी गरे ।
३५ वर्ष लगाएर संग्रह गरिएका ग्रन्थहरुको अनुवाद गर्न आफूलाई दुई वर्ष लागेको लेखक पौडेलले बताए । ९६६ पृष्ठको यो ग्रन्थमा ५५ सय श्लोक रहेका छन् भने विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको हो । पौडेलको जन्म २००२ साल भदौ १३ गते भएको थियो । कार्यक्रममा उनको जीवनी समेटिएको ‘जीवन संग्रह’ पनि विमोचन गरिएको थियो ।








