मोटरसाइकलको ठक्करबाट नवलपुरमा बोल्न नसक्ने एक पैदलयात्रीको मृत्यु

नवलपुर, कात्तिक २७ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका-३ देउरालीको भित्रिसडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गिरुबारीबाट बेलाहानीतर्फ जाँदै गरेको ना ३६ प २४२८ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका बोल्न नसक्ने ४८ वर्षीय कमल गाहालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते गाहालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो । उनको उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक सोही ठाउँका १८ वर्षीय पोषण खाँणलाई नियन्त्रणमा लिएको जनाएको छ ।