कौडा खेल्ने १४ जना नगदसहित नवलपुरबाट पक्राउ, ढुक्क भएर तिहार मनाउन प्रशासनको आग्रह

नवलपुर, कात्तिक २० गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाको देवचुली नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार देवचुली नगरपालिका–१७, कुलेनीमा हारजित हुने गरी कौडा खेल भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले १६ थान कौडा, कौडा खेल्दा भिस्टिङ उठाउन प्रयोग गरिने सेतो धातुको भाँडो तथा नगद ३ लाख ३ हजार १६५ रुपियाँसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच तिहार तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना अन्तर्गत निगरानी बढाएको जनाएको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक तथा अवान्छित गतिविधि नियन्त्रण गर्न जिल्लाभर चौबिसै घण्टा सुरक्षा व्यवस्था मिलाई प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए ।

तिहारमा हुन सक्ने जुवातास, पटका तथा आतसवादीको नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय बनाइएको उपाध्यायको भनाइ छ । जुवातार खेल्ने तथा खेलाउने, प्रतिवन्धित विस्फोटक पदार्थको बिक्रिवितरण गर्ने, गराउने र शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीलाई पनि प्रचलित कानुनअनुसार कारवाही गर्ने उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले चाडपर्वको समयमा नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीलाई चौबिसै घण्टा परिचालन गरिएको बताउँदै मर्यादा भित्र रहि ढुक्क भएर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरे ।