बोमलाल गिरी
नवलपुर, कात्तिक १३ गते । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ५ र ६ जोड्ने पुरानो चलनचल्तीको बाटो मासिएपछि त्यसलाई पुनः सञ्चालन गर्न यहाँका स्थानीयले माग गरेका छन् । हरियाली सामुदायिक वन हुँदै चोरमाराबाट बाघखोर, कोल्हुवा, सेतापानी, पतवारी आउजाउ गर्ने बाटो मासिएपछि अहिले यहाँका स्थानीय जुर्मुराएका हुन् ।
उनीहरुले प्रतिनिधि सभा सदस्य मनिष खनाललाई स्थलगत अनुगमन गराउँदै संघीय सरकारमार्फत बजेट सुनिश्चित गराउन पनि माग गरेका छन् । सुखौरा खोलामा कल्भर्ट निर्माण गर्नु पर्ने भएकाले स्थानीय बजेट प्रयाप्त नुहने भन्दै संघीय सरकारले बजेट सुनिश्चित गर्नु पर्ने मध्यविन्दु–५ का स्थानीय राजन रायमाझाीले बताए । उजका अनुसार झण्डै एक किलो मिटर बाटोको स्तरोन्नतीका लागि करिव पाँच करोड रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
वि.सं. २०२५ सालमै ट्रयाक खोलेर यही बाटो हुँदै आवतजावत हुने गरेको थियो । तर नजिकैबाट पीच सडक बनेपछि यो बाटो पनि मासिदै गएको मध्यविन्दु–५ का वडा सदस्य बल बहादुर केसीले बताए । २०५७ सालमा स्थानीयको सकृयतामा यो बाटोको स्तरोन्नती गरिए पनि पूरा नभएपछि अहिले यो बाटो प्रयोगमा आउन नसकेको केसीको भनाइ छ ।
अर्का स्थानीय कृष्ण बहादुर हमाल ठकुरीका अनुसार स्थानीयले प्रति परिवार चार हजार रुपैयाँ उठाएर डोजर लगाइ बाटोको स्तरोन्नती गरिएको थियो । तर बजेट प्रयाप्त नभएपछि यो बाटोले पुर्णता पाउन नसकेको उनले बताए ।
यही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद मनिष खनालले यो आफू सानो हुँदा नै हिँडडुल गरेको बाटो भएकाले यसको महत्वका बारेमा आफू जानकार रहेको बताए । उनले बाटो स्तरोन्नती गर्न बजेट बिनियोजनका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
हेर्नुहोस् भिडियो









