भोटेकोशी बाढीमा वेपत्ताहरु मध्यविन्दुका १२ जनाको अझै भएन मृत्यु दर्ता

बोमलाल गिरी
नवलपुर, कात्तिक ११ गते । गत भदौ १० गते आएको विनासकारी भोटेकोशी बाढीमा परी नवलपुरको मध्यविन्दु नगरपालिका–५ बाघखोरका ९ जना र वडा नं. १ सेतापानीका ३ जना बेपत्ता भए । जिवितै भेटिने आश मरेपछि सबै १२ जनाको असोज २ गते कुशको शव बनाएर सामुहिक अन्त्येष्टि गरियो ।

अन्त्येष्टिमा नगरपालिका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सरकारी कर्मचारी र स्थानीयको बाक्लो उपस्थिती थियो । तर मृत घोषणा गरेका परिवारका सदस्य कसैको पनि अहिलेसम्म मृत्यु दर्ता प्रमाण पत्र पाउन सकेका छैनन् ।

‘‘वेपत्तापछि खोजी कार्यमा स्थानीय र संघीय सरकार तथा स्थानीय वासिन्दाले गरेको सहयोग प्रति हाम्रो कुनै गुनासो छैन, सक्दो प्रयास भएकै हो,’’ मृत घोषणा गरेका बाघखोरका तेज बहादुर थारुका छोरा मुनाल थारुले भने, ‘‘मृत्यु दर्ता प्रमाण पत्र पाउन नसक्दा बैंकिङ कारोवारमा समस्या भएको छ, सरकारले अलि छिटो गरिदिए हुन्थ्यो ।’’

विपद्मा परी बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया सहज बनाउन सरकारले नयाँ कानुनी व्यवस्था गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै विपदमा बेपत्ता भएकाहरूलाई सरकारले सामूहिक रूपमा मृत घोषणा गर्न सक्ने बाटो खुलेको हो ।

तर अझै पनि मृत्यु दर्ता गर्न किन नसकिएको हो त ? मध्यविन्दु–५ का वडाध्यक्ष गणेशप्रसाद पाठकले कानूनी अड्चन र लामो प्रकृयाका कारण समय लागेको बताए । ‘‘हामीले सम्बन्धित व्यक्तिको विवरणसहित नगरपालिकालाई सिफारिस गरेका छौं, नगरपालिकाले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई पठाउँछ र समितिले निर्णय गरी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएपछि त्यसको सिफारिसका आधारमा बल्ल मृत्यु दर्ता प्रमाणपत्र दिन सकिने रहेछ ।’’

नवलपुर–२ का प्रतिनिधि सभा सदस्य मनिष खनालले यसमा स्थानीय तह नै बढी जिम्मेवार हुनु पर्ने भन्दै आवश्यक सहजिकरणका लागि आफू तयार रहेको बताए । विपद्मा मृत्यु भएकाहरुलाई मृत घोषणा गर्न १२ वर्ष कुर्नु पर्ने प्राब्धानलाई अध्यादेशमार्फत संसोधन गरेर सरल बनाए पनि आजको भोलि नै नहुने भन्दै प्रकृया पुरा गर्न समय लाग्ने उनको भनाइ छ ।

वेपत्ताहरुको खोजि कार्यमा सुरुदेखि नै सक्रिय भएर लागेका स्थानीय राजन रायमाझीले मृत्युदर्ता प्रमाणिकरणमा ढिलाई हुँदा बैंकिङ कारोवारदेखि धेरै समस्या उत्पन्न भएको भन्दै सबै पक्षलाई तिब्रता दिन आग्रह गरे । एउटै गाउँबाट यतिधेरै मानिस वेपत्ता हुँदाको पीडालाई मल्हम लगाउन पनि मृत्यु दर्ताको काम छिटो टुंगाइदिन उनको आग्रह छ ।

भोटेकोशी बाढीमा परी मध्यविन्दु–१ सेतापानीका हेम बहादुर चौधरी, हुसन बहादुर थारु र कालिराम महतो थारु वेपत्ता भएका थिए । त्यस्तै मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकदेव महतो, नुम नारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु वेपत्ता भएका थिए ।