नवलपुर, कात्तिक १० गते । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनालाई सकुसल उद्दार गरिएको छ ।
नवलपुरको गैंडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै नारायणी नदीमा सोमबार डुबेर दुई जना बेपत्ता भएका छन् । स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुब्न लागेपछि उनलाई बचाउन गैंडाकोट–२ का १५ वर्षीय प्रतिक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए ।
सो क्रममा तीनै जना नदीमा डुबेका थिए । घटना लगत्तै चितवन राप्ती नगरपालिका–९ का ४१ वर्षीय चेकमान सिंह लामाले सबिनलाई सकुशल उद्धार गर्न सफल भएक थिए भने वर्षा र प्रतिक हालसम्म पनि फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबाट गैंडाकोट नगरपालिका–२ स्थित नारायणी पुलबाट नाम, थर, वतन, उमेर नखुलेका पुरुष हाम फालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
खैरो कालो कलरको कपडाको पाईन्ट, सेतो कालो र हरियो मिक्स भएको हुडी, पिङ्क कलरको लेडिज साईकल र खैरो कालो चपल छाडी छैटौं पुलको खम्बा माथीबाट नारायणीमा हाम फालेर बेपत्ता भएको पण्डितले जानकारी दिनुभयो । बेपत्ताहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।







