दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए।
दुई हजार ९८८ जना घाइते भएका छन्। घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्। उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।
काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन्। गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।







