बसको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवलदार घाइते

नवलपुर, कात्तिक १० गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावसोती नगरपालिका–२ फलफूलचोकमा बसको ठक्करबाट डिउटीमा खटिएका प्रहरी हवलदार घाइते भएका छन् ।

महेन्द्रनगरबाट काकडभित्तातर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ४२२३ नम्बरको बसले मंगलबार बिहान पिकेट डिउटीमा खटिएका चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगर घर भइ जिल्ला प्रहरी कार्यालय, नवलपुरमा कार्यरत प्रहरी हवलदार ४१ वर्षीय राजकुमार सुनारलाई ठक्कर दिइ घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते सुनारलाई तत्काल उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

ठक्कर दिने बस र चालक झापा मेचिनगर नगरपालिका–२ का ४२ वर्षीय शिव कुमार पन्तलाई अस्थायी प्रहरी पोष्ट दलदलेले नियन्त्रणमा लिएको पण्डितले जानकारी दिए ।