चोरमाराको सडक भासियो, दुर्घटनाको जोखिम उच्च (भिडियोसहित)

नवलपुर, कात्तिक १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको चोरमाराको उकालो सडक खण्ड भासिएको छ । तीन/चार इन्चसम्म सडक भासिएर खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम उच्च रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक केही भाग दबिएको छ भने केही भाग उठेर टायरको लेन मात्र बनेको छ । सडक समथर नहुँदा नियमित सवारी साधन चलाउने चालकहरु सतर्क भएर चलाउने गरेपनि नयाँ सवारी चालकका लागि उच्च जोखिम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले बताए । उनका अनुसार दुई पांग्रे र तीन पांग्रे गाडीमा बढी जोखिम देखिएको छ ।

दुर्घटनाको जोखिम बढेकोले सडक एकतर्फी सञ्चालन गर्ने कि छिटो मर्मत गर्ने भनेर सडक आयोजनासँग परामर्श पनि गरिरहेको बर्तौलाले बताए । जवाफमा आयोजनाले ममर्त गर्ने बताएको उनको भनाइ छ । यसअघि पनि सडक भासिएपछि दुई महिना अघि झण्डै एक सय मिटर बाटोलाई भत्काएर पुनः कालोपत्रे गरिएको थियो ।

विस्तारको काम सकेर सरकारलाई हस्तान्तरण गर्नु अघि नै सडक भसिएर बिग्रेपछि ठेकेदार कम्पनीले तत्काल मर्मत गर्नका लागि नारायणघाटदेखि बुटबलसम्म नै अनुगमन गरिरहेको सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनले यसअघि केही भागमा पुनः मर्मत गरिसकेकाले सोही मापदण्ड अनुसार मर्मत गर्ने तयारी गरेको बताए । यसअघि बिग्रेको सडकको दुईपत्रे कालोपत्रमध्ये माथिल्लो मागलाई उप्काएर फेरी रोलिङ गरी कालोपत्रे गरिएको थियो ।

उक्त सडकको चोरमारा, अरुणखोला लगायतका क्षेत्रमा पनि सडक भासिएपछि सडक आयोजनाले अनुगमन गरेको खनालले बताए । नारायणघाटदेखि बुटबलसम्मको झण्डै ११४ किलोमिटर सडकमध्ये बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक विस्तार भएको हो । १७ अर्ब रुपैयाँमा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.ली.ले ठेक्का लिएको यो सडक पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

हेर्नुहोस भिडियो