बोमलाल गिरी
नवलपुर, कात्तिक २० गते । निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, नवलपुरको कावासोती–९, रामनगरका चण्डिकाप्रसाद लामिछाने
विगत २५ वर्षदेखि व्यावसायिक मौरीपालनमा सक्रिय उनले यस व्यवसायबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
२०५८ सालदेखि मौरीपालन सुरु गरेका लामिछानेले सुरुमा तरकारी खेती, फलफूल तथा नर्सरी व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाएका थिए । मौरीका घारको सङ्ख्या बढ्दै गएपछि भने अन्य काम छाडेर मौरीपालनमै केन्द्रित भए ।
उनले भने, “सुरुमा मौरी थोरै हुँदा तरकारी खेती, फलफूल तथा नर्सरी व्यवस्थापनलाई पनि सँगसँगै लगें । जब मौरीका घारको सङ्ख्या बढ्दै गयो, सबै छोडेर यसैमा व्यावसायिक रूपमा लागें ।”
व्यवसायलाई संस्थागत रूप दिन उनले २०६८ सालमा ‘नेचुरल कृषि फर्म’ दर्ता गरे । पछि सहकारीसमेत दर्ता गरेर मौरीपालनलाई थप व्यावसायिक स्वरूप दिए ।
फर्ममा हाल करिब तीन सय घार मौरी रहेको उनले बताए । मौसम र चरनको उपलब्धताअनुसार वार्षिक सात टनसम्म मह उत्पादन हुने र त्यसबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।
शुद्ध मह चिन्ने कसरी?
बजारमा शुद्ध र कृत्रिम मह छुट्याउन उपभोक्तालाई समस्या भइरहेको लामिछानेको अनुभव छ । उनका अनुसार महको शुद्धता पहिचान गर्ने सबैभन्दा भरपर्दो माध्यम प्रयोगशाला परीक्षण हो । प्रयोगशालाको सुविधा नभएको अवस्थामा भने महको स्वाद, वासना र रङमा ध्यान दिन सकिने उनको सुझाव छ ।
कृत्रिम महमा प्रायः एउटै प्रकारको रङ, स्वाद र वासना हुने उनको भनाइ छ । “मह विभिन्न प्रकारका फूलको रसबाट बन्ने पदार्थ हो । त्यसैले यसको स्वाद, वासना र रङ चरनअनुसार फरक हुन्छ । कुनै मह कालो, कुनै सेतो त कुनै पहेँलो हुन्छ । त्यस्तै, कुनै मह छिटो जम्छ भने कुनै ढिलो जम्छ र कुनै नजम्न पनि सक्छ,” लामिछानेले भने ।
उनले पानीमा हालेर पनि महको गुणस्तर छुट्याउन सकिने बताए । तर मह जम्ने वा नजम्ने आधारमा मात्रै त्यसको शुद्धता निर्धारण गर्न नमिल्ने उनको भनाइ छ । महको गुणस्तर र शुद्धताबारे उपभोक्तामा पर्याप्त जानकारी नहुँदा वास्तविक मौरीपालकले उत्पादन गरेको महले बजारमा उचित पहिचान पाउन नसकेको उनको गुनासो छ ।
चरनको खोजीमा सर्लाहीदेखि प्यूठानसम्म
मौरीपालनका लागि चरन महत्वपूर्ण पक्ष हो । मौरीलाई पर्याप्त पुष्परस उपलब्ध नभए मह उत्पादनमा असर पर्छ । त्यसैले लामिछानेले आफ्ना मौरी चराउन सर्लाहीदेखि दाङ र प्युठानसम्म पुर्याउने गरेका छन् ।
मौरी चराउन लैजाँदा तापक्रम र मौसमको विशेष ख्याल गर्नुपर्ने उनको अनुभव छ । चरनको उपयुक्त व्यवस्थापन गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिने उनले बताए ।
मौरीपालनका चुनौती
व्यावसायिक मौरीपालनमा विभिन्न चुनौती रहेको लामिछाने बताउँछन् । अरिङ्गाल मौरीको प्रमुख शत्रु हो । यसबाहेक सुलसुले, ढुसीजन्य रोग तथा कहिलेकाहीँ छाउरा कुहिने रोगले समेत मौरीपालनमा क्षति पुर्याउने गरेको उनको भनाइ छ ।
“यी प्रकोपबाट मौरीलाई जोगाउन सकियो र राम्रो चरनको व्यवस्था भयो भने मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।
मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र विज्ञको अभाव पनि अर्को समस्या रहेको उनको अनुभव छ । समय–समयमा विज्ञको परामर्श र प्राविधिक सहयोग उपलब्ध हुन सके व्यवसायलाई अझ व्यवस्थित बनाउन सकिने उनी बताउँछन् ।
नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्नुअघि बजारको अवस्था राम्रोसँग बुझ्न लामिछानेको सुझाव छ । “उत्पादित वस्तुको माग कस्तो छ, मागअनुसार उत्पादन गर्न सकिन्छ कि सकिँदैन, आवश्यक कच्चा पदार्थ, दक्ष जनशक्ति र व्यवस्थापनको अवस्था कस्तो छ भन्ने विषयमा पहिले नै योजना बनाएर व्यवसाय सुरु गरियो भने अवश्य सफल भइन्छ,” उनले भने ।
व्यावसायिक मौरीपालनमा लागेपछि समय व्यवस्थापन गर्न भने निकै कठिन हुने उनको अनुभव छ । “मौरीपालन यस्तो व्यवसाय हो, जसले सधैँ जिम्मेवार बनाइरहन्छ । एक दिनका लागि घर छाडेर अन्यत्र जान पनि सोच्नुपर्छ । विदेश घुम्न जाने वा लामो समय व्यवसायबाट टाढा रहने अवस्था हुँदैन । मौरीले सधैँ बाँधेर राखेको हुन्छ,” लामिछानेले आफ्नो अनुभव सुनाए ।









