नवलपुर महोत्सवको उद्घाटन महासंघका अध्यक्ष श्रेष्ठले गर्ने

नवलपुर उद्योग वाणिज्य संघले आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म आयोजना गरेको नवौँ नवलपुर महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गर्ने भएका छन् । प्रमुख अतिथिको रुपमा उपस्थित हुन लागेका अध्यक्ष श्रेष्ठले महोत्सव उद्घाटन गर्ने टुंगो लागेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले जानकारी दिए ।

महोत्सव कावासोती नगरपालिका–२ स्थित भाटटोलाको खेल मैदानमा  हुँदैछ । ‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरको लागि नवौँ महोत्सवको उपयोगिता’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले जिल्लाको व्यापार, व्यवसाय र उद्योगधन्दाको संरक्षण, संवर्द्धन तथा विकास गर्दै उद्यमी र व्यवसायीबीच एकता र मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, कृषि र उद्योगको विकास, पर्यटनका सम्भावनाको पहिचान र लगानी आकर्षित गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले बताए  । साथै, स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षण, सांस्कृतिक पर्यटनको विकास र युवालाई उद्यमशीलतामार्फत स्वरोजगार बन्न प्रेरित गर्ने आयोजकको अपेक्षा छ।

महोत्सवका अवसरमा जिल्लाका होटलहरूमा विशेष छुट तथा जंगल सफारीमा सहुलियतको व्यवस्था गरिने आयोजकले जनाएको छ। यसबाट जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शन, मौलिक बाजा तथा लोकनाचको खोज र प्रवर्द्धनलगायतका गतिविधि सञ्चालन गरिनेछन्। नवलपुरका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई समेत प्राथमिकता दिइनेछ।