नवलपुर, मंसिर १० गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दुमा बोलेरो पिकअप भ्यान र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन् ।
मध्यबिन्दु नगरपालिका-११ बाहुनिकुनामा डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र बिपरित दिशाबाट जाँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बिनयी त्रिबेणी- ४ सर्दीका ३० वर्षीय सुरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका १६ वर्षका रबिन चौधरी, २० वर्षका रिजन चौधरी, २३ वर्षका बिशाल राना, १५ वर्षका श्याम चौधरीको, १८ वर्षीय गुल्सन थापा र १९ वर्षका युवराज चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रेफर गरिएको पण्डितले जानकारी दिए ।
त्यस्तै मध्यबिन्दु-१० अरुणखोलाका २१ वर्वीय आदिश आले, १८ वर्षका अश्विन चौधरी, २० वर्षका निर्मल चौधरी, १५ वर्षीय प्रिन्स बि.क., ४० वर्यका खेम नारायण चौधरी, २६ वर्षका घनश्याम चौधरी र २६ वर्यका सुमेन्द्र चौधरी घाइते हुनु भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









