बोमलाल गिरी
नवलपुर, मंसिर ५ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती बजार क्षेत्रको सभापति चोकमा निर्माण गरिएको सडक डिभाइडर तथा क्रसपासको विरोध गर्दै स्थानीयले बिहान राजमार्ग अवरुद्ध गरेका छन् ।
सडकमा सवारी आवागमन व्यवस्थित गर्ने उद्देश्यले बनाइएको क्रसपासको स्थान र व्यवस्थापन अव्यावहारिक भएको भन्दै स्थानीयले सभापति चोकमा युटर्नको माग गर्दै राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन्
बजारको बीच भागमा बसोबास गर्ने तथा व्यवसाय सञ्चालन गर्ने नागरिकले सडकको अर्को दिशातर्फ जानुपर्दा नजिकैबाट बाटो काट्ने सुविधा नपाएको उनीहरूको गुनासो छ ।
युटर्न लिनकै लागि मुख्य बजार क्षेत्रको फलफूल चोक वा थकाली चोकसम्म पुग्नुपर्ने बाध्यता छ । यसले अनावश्यक दूरी बढाउनुका साथै दैनिक आवतजावतमा झन्झट र समयको बर्बादी गरिरहेको स्थानीय रेशमराज पौडेलले बताए।
सडकको संरचना र ट्राफिक व्यवस्थापनबीच तालमेल नमिलेको भन्दै सभापति चोकमा युटर्न राख्नुपर्ने जीवन सीटी अस्पतालका सञ्चालक जीवन सापकोटाले बताए । आफूहरुका मागको सुनुवाइ नभए कडा आन्दोलन गर्ने र आवश्यक परे आफै अग्रसर भएर डोजर लगाई युटर्न निर्माण गर्ने सापकोटाले चेतावनी दिए।
यसअघि भदौ १८ गते जिल्ला समन्वय समिति, कावासोती नगरपालिका र नवलपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूको बैठकले पनि सभापति चोक आसपास साना सवारीसाधनका लागि मिनी युटर्न थप गर्न नारायणघाट–बुटवल सडक आयोजनासँग माग गरेको थियो ।
तर सडक आयोजनाले भने राजमार्गको संरचना परिवर्तन नहुने स्पष्ट पारेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले राजमार्ग निर्माण हुनुअघि नै सरोकारवालासँगको छलफल र प्राविधिक मापदण्डअनुसार युटर्न तथा क्रसिङ निर्माण गरिएको बताए ।
‘’डिपिआरमा यहाँ युटर्न थिएन, बाटो बनिसकेपछि स्थानीयले युटर्नको माग गर्नुभएको छ, तर यो धेरै ढिला भइसक्यो, अव संसोधन गर्न सकिन्न,’’ खनालले भने ।









