बोमलाल गिरी
नवलपुर, मंसिर ५ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती बजार क्षेत्रमा निर्माण गरिएको सडक डिभाइडर तथा क्रसपासको व्यवस्थापनलाई लिएर स्थानीयले आक्रोस पोखेका छन् ।
सडकमा सवारी आवागमन व्यवस्थित गर्ने उद्देश्यले बनाइएको क्रसपासको स्थान र व्यवस्थापन अव्यावहारिक भएको भन्दै स्थानीयले सभापति चोकमा युटर्नको व्यवस्था गर्न माग गरेका छन् ।
बजारको बीच भागमा बसोबास गर्ने तथा व्यवसाय सञ्चालन गर्ने नागरिकले सडकको अर्को दिशातर्फ जानुपर्दा नजिकैबाट बाटो काट्ने सुविधा नपाएको स्थानीयको गुनासो छ ।
युटर्न लिनकै लागि मुख्य बजार क्षेत्रको फलफूल चोक वा थकाली चोकसम्म पुग्नुपर्ने बाध्यता छ । यसले अनावश्यक दूरी बढाउनुका साथै दैनिक आवतजावतमा झन्झट र समयको बर्बादी गरिरहेको स्थानीय रेशमराज पौडेलले बताए।
सडकको संरचना र ट्राफिक व्यवस्थापनबीच तालमेल नमिलेको भन्दै सभापति चोकमा युटर्न राख्नुपर्ने स्थानीयको माग छ । यसअघि भदौ १८ गते जिल्ला समन्वय समिति, कावासोती नगरपालिका र नवलपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूको बैठकले सभापति चोक आसपास साना सवारीसाधनका लागि मिनी युटर्न थप गर्न नारायणघाट–बुटवल सडक आयोजनासँग माग गरेको थियो ।
त्यसै बैठकले जिल्ला प्रहरी कार्यालय अगाडि जेब्रा क्रसिङ थप गर्न, सर्भिस लेनसँग जोडिएका घर तथा व्यवसायमा आवतजावत सहज बनाउन आवश्यक व्यवस्थापन गर्न र ढल निकासको समस्या समाधान गर्नसमेत आयोजनाको ध्यानाकर्षण गराएको थियो ।
सडक बनाउनुको उद्देश्य यात्रा सहज र सुरक्षित बनाउनुका साथै स्थानीयलाई आफ्नै बजारभित्र आवतजावत गर्न थप दूरी पार गर्न बाध्य बनाउनु नभई सडकको डिजाइन गर्दा राष्ट्रिय राजमार्गको मापदण्डसँगै स्थानीयको दैनिक जीवन र व्यावहारिक आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रलले बताए ।
आफूहरुका मागको सुनुवाइ नभए कडा आन्दोलन गर्ने र आवश्यक परे आफै अग्रसर भएर डोजर लगाई युटर्न निर्माण गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
सभापति चोकमा जिवनसिटि अस्पताल सञ्चालन गर्दै आउनु भएका जिवन सापकोटाले आँफुहरुले एक वर्षअगाडिनै यसवारे सम्बन्धित नियकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै माग सुनुवाई नगरिए मुठभेडको स्थिति आउन सक्ने चेतावनि दिए ।
सडक आयोजनाले भने राजमार्गको संरचना परिवर्तन नहुने स्पष्ट पारेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले राजमार्ग निर्माण हुनुअघि नै सरोकारवालासँगको छलफल र प्राविधिक मापदण्डअनुसार युटर्न तथा क्रसिङ निर्माण गरिएको बताए ।
‘’डिपिआरमा यहाँ युटर्न थिएन, बाटो बनिसकेपछि स्थानीयले युटर्नको माग गर्नुभएको छ, तर यो धेरै ढिला भइसक्यो, अव संसोधन गर्न सकिन्न,’’ खनालले भने।









