सचेत बन्दै हुप्सेकोटका महिला : बारीबाट विषादी र रासायनिक मललाई बाइबाइ

बोमलाल गिरी
नवलपुर, कात्तिक २९ गते । कुनै समय थियो नवलपुर हुप्सेकोटको तरकारी र काक्रो भनेपछि निक्कै सोचेर मात्र किन्न पथ्र्यो । किनकी यहाँका किसानले तरकारीमा अत्याधिक विषादी प्रयोग गर्थे । दुई वर्षअघि समाचार सेवाले ‘विषादीको प्रयोग व्यापक, एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग’ शीर्षकमा समाचार नै छापेको थियो ।

तर अव समय फेरिएको छ । किसान आफ्नो स्वास्थ्यप्रति मात्र नभई उपभोक्ता र माटोको स्वास्थ्यप्रति समेत सचेत हुन थालेका छन् । हुप्सेकोट–४ का महिलाले विषादी र रासायनिक मललाई पूर्ण रुपमा निषेध गरि अर्गानिक झोल मल र गड्यौला मल प्रयोग गरी खेती गर्न थालेका छन् ।

विगतमा घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक खेतीमा लागेर परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएका छन् । शंखदेवमा १४ जना महिलाले अर्गानिक तरकारी खेती गरिरहेको स्थानीय कृषक रुपा रानाले बताइन् ।

आफूहरुले रासायनिक मल तथा विषादीको प्रयोगलाई निषेध गर्दै प्राङ्गारिक मल, गड्यौला मल र झोल मलको प्रयोगबाट तरकारी खेती गर्दै आएको उनको भनाइ छ । रानाका अनुसार अर्गानिक खेतीले उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । उत्पादन केही महँगो भए पनि बजारमा मूल्य पाउन समस्या नभएको उनी बताउँछिन् । यहाँ उत्पादित तरकारी कावासोती, काठमाडौं र बुटबल जाने गरेको छ ।

‘‘सबैभन्दा पहिले आफू स्वस्थ भइन्छ, उपभोक्तालाई स्वस्थकर खुवाउन पाइन्छ,’’ रानाले भनिन्, ‘‘उपभोक्ता पनि विषादीप्रति सचेत भएकाले अर्गानिक तरकारी केही महँगो भए पनि बजार अभाव छैन ।’’ उनका अनुसार गड्यौला मल र भर्मिकम्पोस्ट मल तरकारी खेतीका लागि निकै प्रभावकारी देखिएको छ ।

महिला आत्म निर्भर हुँदा परिवारमा खुशी
डब्लुडब्लुएफ र सहमति संस्थाको प्राविधिक र आर्थिक सहयोगमा महिलाहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । अर्गानिक खेतीले महिलाको आर्थिक अवस्था मात्र नभई पारिवारिक सम्बन्धमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । पहिले घरखर्चका लागि श्रीमानको कमाइमा मात्र निर्भर हुनु पर्दा घरमा कलह हुने, महिलालाई हेप्ने चलनको अन्त्य भएको र पारिवारिक सम्वन्ध सुमधर स्थापना भएको उनले बताइन् ।

‘‘अहिले घर व्यवहार चलाउन समस्या भएको छैन । घर खर्च चलाउन श्रीमानको मात्र भर पर्दा विवाद हुन्थ्यो, महिलालाई हेप्ने गरिन्थ्यो,’’ झेँडीले भनिन्, ‘‘तर महिलाले नै घर खर्च व्यवस्थापन गर्न सक्दा परिवारमा खुशी र श्रीमानबाट माया पाइदो रहेछ ।’’ उनका अनुसार तरकारी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइ खर्च जुटाउन र घरव्यवहार चलाउन सहज भएको छ । यहाँका हरेक महिलाले मासिक १० हजार रुपियाँ बचतसमेत गरिरहेका छन् ।

रासायनिक मलले बिगारेको माटो
विगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएकी हुप्सेकोट–४ भैंसेघाटकी रमा न्यौपानेले पहिले बजारबाट विभिन्न प्रकारका विषादी र रासायनिक मल ल्याएर प्रयोग गर्ने गरेको भए पनि अहिले आफै झोल मल र गड्यौला मल उत्पादन गरेर प्रयोग गर्ने गरेको बताइन् ।

‘‘पहिले धेरै उत्पादन हुन्छ भनेर विषादी प्रयोग गरेर खेती गरिन्थ्यो । त्यही विषादीयुक्त तरकारी आफैँले पनि कति खाइएछ कति, तालिम लिएपछि विषादीले स्वास्थ्यमा पार्ने असरबारे जानकारी भयो,’’ न्यौपानेले भनिन्, ‘‘अहिले हाम्रो ठाउँ विषादीमुक्त बनेको छ, विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारी भन्दै बजारमा बिक्री गर्न पनि समस्या छैन । उपभोक्ताले समेत विषादीरहित तरकारी खोज्न थालेका छन् ।’’

पहिले थाहै नपाएर मान्छे र माटोको स्वास्थ्य बिगारिरहेको उनको अनुभव छ । ‘‘रासायनिक मलको निरन्तर प्रयोगले माटोको उर्वराशक्ति बिग्रिएको रहेछ । तीन वर्षदेखि अर्गानिक खेती गर्न थाले पनि रासायनिक मलले बिगारेको माटो अझै पूर्ण रूपमा सुधार भएको छैन,’’ न्यौपानेले भनिन् ।

यहाँका महिलाको अनुभवनले विषादी र रासायनिक मलको अत्यधिक प्रयोग घटाउँदै अर्गानिक खेतीलाई विस्तार गर्न उनहरुको सुझाव छ । ‘‘सकेसम्म रासायनिक मल र विषादीको प्रयोग नगरौँ । आफू पनि स्वस्थ रहौँ र अरूलाई पनि स्वस्थ राखौँ,’’ न्यौपानेले भनिन् ।