यो वर्ष ४३ प्रतिशत अर्थात १५६ दिन सार्वजनिक बिदा

मंसिर १ गते । नेपालमा अनेकन् पर्व र दिवसका नाममा सार्वजनिक बिदैबिदा छँदै थियो । यसैमाथि सरकारले थपिदियो हरेक आइतबार पनि सार्वजनिक बिदा । चालू वर्षमा कुल ३६५ दिनमा १५६ दिन सार्वजनिक बिदा छ, जुन ४३ प्रतिशत हुन्छ । यो बिदामा १३ दिन भने खप्टिएका छन् ।

कात्तिक महिनामा मात्रै ३० दिनमा १९ दिन सार्वजनिक बिदा थिए । अघिल्लो महिना असोजमा नौ दिन देशभर र काठमाडौंमा इन्द्रजात्रासमेत थपिँदा १० दिन पुग्यो । भदौमा जेन–जी दिवस र मोहम्मदजयन्ती तथा तिजमा महिलालाई दिएको बिदासमेत जोड्दा १३ दिन बिदा थियो ।

अत्यधिक सार्वजनिक बिदाका कारण सार्वजनिक सेवा, स्वास्थ्य सेवा, शैक्षिक, वित्तीयदेखि व्यापारिक तथा व्यावसायिक गतिविधि प्रभावित भएका छन् । धेरै बिदाले मस्तीभन्दा मर्का धेरै पारेको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेको छ । खासगरी आइतबारे बिदाले समस्या निम्त्याएको आमबुझाइ छ ।

शनिबार र आइतबारको बिदामा कतिपय अवस्थामा अगाडि र पछाडि पर्ने बिदा जोडिँदा लगभग साताव्यापी नै असर पर्ने गरेको छ । यसले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने गरेको छ ।

शुक्रबारपछि एकैचोटी सोमबार कार्यालय खुल्दा त्यसदिन सेवाग्राहीको चाप अत्यधिक हुने गरेको छ । यस्तो अवस्थामा दुई दिन लगातार बिदा हुँदा कार्यालय खुल्ने दिन भिड व्यवस्थापन गर्न धेरै गाह्रो हुन थालेको छ ।

शुक्रबारपछि एकैचोटी सोमबार कार्यालय खुल्दा टाढाबाट सेवा लिन आउने सेवाग्राहीलाई झन् चर्को मार पर्छ । शुक्रबारसम्म काम नसकिए सोमबारसम्म कुर्नुपर्ने बाध्यताबिच गास–बासको व्यवस्थापन खर्चिलो बन्छ । बाहिरी जिल्लाबाट उपत्यकाका अस्पतालमा उपचार गर्न पुग्ने बिरामी र आफन्तले पनि यही मार खेप्नुपरेको छ ।

पश्चिम एसिया (मध्यपूर्व)मा जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि २२ चैत ०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थ आपूर्तिमा भएको कठिनाइ व्यवस्थापन गर्न सरकारले यस्तो निर्णय गरेको थियो । आइतबार बिदाको सट्टा सोमबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय बिहान एक घण्टाअगाडि ९ बजेदेखि खोल्ने नियम चलाएको छ ।