बालुवाडाँडाको सिरदेखि नारायणी तिरसम्म साइकल यात्रा

नवलपुर, कात्तिक २९ गते । नवलपुरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ झण्डै एक सय ५० जनाले समूहले आइतबार साइकल यात्रा गरेको छ । कावासोती नगरपालिकाको आयोजना र कावासोती साइकल गु्रपको समन्वयमा झण्डै ६३ किलोमिटस साइकल यात्रा गरिएको कावासोती साइकल ग्रुपका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।

विश्व पर्यटन दिवसका अवसरमा गर्ने भनिएको साइकल यात्रा पानीका कारण आजलाई सारिएको थियो । नगरपालिका भित्र रहेका पर्यटकीय स्थल र मठमन्दिरको प्रवर्धन गर्दै नेपाललाई चिनाउने मुख्य उद्देश्य रहेको उहाँले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले रिबन कारटेर यात्राको शुभारम्भ गरेका थिए ।

उनले साइकल यात्राले वातावरण जोगाउन मद्दत गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले नियमित साइकल यात्रा गर्न उपयुक्त हुने सुझाव दिए । नगरपालिकाबाट सुरु भएको यात्रा, बीपी चोक, बालुवाडाँडा, महाराजा मन्दिर, रिठेपानी, लोकाहा, पिठौली चौर, जटायु रेष्टुरेन्ट, ग्रिन चुवाँडी, चिलाहा रतौल होमस्टे, गुन्द्रही मुसहर टोल हुँदै अमलटारी होमस्टे बाघखोर पुगेर समापन भएको थियो ।