बोमलाल गिरी
नवलपुर, कात्तिक २१ गते । अमेरिकाको ड्यालसका मास कम्युनिकेशनका प्रध्यापक ७२ वर्षीय जोन प्यारिशलाई घुँडा खिइएको, गर्धन दुख्ने र प्रोस्टेटको समस्या थियो । उनी अमेरिकामा उपचार गर्दा गर्दा थाकिसकेका थिए । एक दिन उनले त्यहाँ रहेका नेपाली मार्फत नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका बारेमा सुने । र नेपाल आएर उपचार गराउनका लागि तयार भए ।
२४ घण्टाको हवाई यात्रा, नेपालको खाना र यहाँको मौसमसँग घुलमिल हुन उनलाई गाह्रो मात्र होइन असैह्य नै भइसकेको थियो । जतिबेला पनि सुत्न मन लाग्ने, अमेरिका फर्किहालौं जस्तो लाग्ने समस्या तीन/चार दिनको बसाई र उपचार पद्दतीले समाधान हुँदै गयो । शरीरका अंगहरु दुख्ने समस्या समाधान भयो, प्रोष्टेट पनि निको भयो । अहिले उनलाई लाग्दैछ, ‘‘समयको अवरोध हुँदैन थियो भने अझै डेढ, दुई महिना यहिँ बस्ने थिए ।’’
जोन मात्र होइन, विश्वका अन्य थुप्रै विकसित मुलुकबाट एलोपेथिक उपचार पद्दती (आधुनिक मेडिकल उपचार पद्दती) बाट थाकेकाहरुका लागि एउटा राम्रो विकल्प बनेको छ रजहर । प्राकृतिक उपचार लिनका लागि यहाँ आउनेको संख्या बढिरहेको चिकित्सालयले जनाएको छ । प्राकृतिक चिकित्सालयका महाप्रवन्धक हरि सापकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्म २७ जना विदेशी नागरिकले यहाँ आएर उपचार गराइसकेका छन् ।
अन्य उपचार पद्दती र प्राकृतिक उपचार पद्दतीका बीचमा के भिन्नता पाउनु भयो भन्ने प्रश्नमा जोनले भने, ‘‘तुलना गर्नै मिल्दोरहेनछ, रात र दिनको जस्तै फरक रहेछ । अमेरिकामा चिकित्सकका लागि एक जना बिरामी केवल एउटा नयाँ केश मात्र हो, चिकित्सकले बिरामीलाई तीन मिनेटभन्दा बढी समय खर्चिदैन । तर यहाँ त मानवताका नाताले व्यक्तिगत हेरचाह हुँदोरहेछ ।’’
मुटुको समस्या, कोलेस्टोर, अपज, मोटोपन, अनिद्रा लगायत थुपै्र रोग बोकेर जापानको फुकुओकाबाट आएकी मायुको माकाहातो एक हप्ताको उपचारले नै आश्चर्यचकित परिन् । ४८ वर्षसम्म घट्न नसकेको उनको मोटोपन एक हप्तामा चार किलो घट्दा उनीमा खुशीको सीमा थिएन ।
यहाँ एक हप्तापछिको स्वास्थ्य रिपोर्ट आफूले उपचार गराईरहेको जापानको अस्पताल पठाउँदा त्यहाँका चिकित्सक समेत आश्चर्यचकित परे । त्यतिमात्र होइन उनको स्वास्थ्यमा आएको सुधार देखेर नियमित चेकजाँच गरिरहेको चिकित्सकको टोली नै रजहर आएको अस्पतालका महाप्रवन्धक हरि सापकोटाले बताए । समय अभावका कारण एक हप्ताको मात्र बसाई बसेकी उनी लगत्तै परिवारका सदस्यहरुसहित फेरी आउने बाचा गरेर जापान फर्किन् ।
ब्राजिलकी भर्जनी म्यारी मौरोन विश्व यात्री हुन् । उनले आफ्ना अमेरिकन साथीमार्फत रजहरको प्राकृतिक चिकित्साका बारेमा सुनिन् । आफ्ना थुप्रै स्वास्थ्य समस्या लिएर आएकी म्यारी दुई हप्ताको उपचारपछि पूर्ण रुपमा निको भएर फर्के पनि फेरी आउने बाचा गरेकी छिन् । उनले आफ्नो यात्राका क्रममा यहाँको उपचार पद्दतीका बारेमा अरु धेरै मान्छेलाई जानकारी गराउने पनि बताइन् ।
अस्पतालको तथ्यांकअनुसार अमेरिका, नर्वे, ब्राजिल, पाकिस्तान, भारत, जापान, भुटान लगायत थुपै देशका नागरिकले यहाँको उपचार सेवा लिएका छन् । जोनले पनि यहाँको प्राकृतिक चिकित्सालाई विश्वव्यापी रुपमा प्रचार गर्न आवश्यक रहेको प्रतिकृया दिए । ‘‘उपचारको कुरा मात्र होइन, यहाँको व्यक्तिगत हेरचार, थेरापी र वातावरणको बयान गरीसाध्य छैन । यो त हरेक मान्छेले एक पटक अनुभव गर्नु पर्ने अद्भुत ठाउँ रहेछ,’’ जोनले भने ।
त्यसको लागि विश्वमा रहेका विभिन्न ट्राभल एजेन्सीहरुसँग सहकार्य गर्न सकिने उनले बताए । ‘‘पहिले उनीहरुलाई यहाँ बोलाएर ५, ६ दिन उपचार गरी पहिले अनुभव लेऊ अनि बोल भन्न सकिन्छ, पश्चिमा मुलुकहरुमा हेल्थ जर्नललाई धेरैले विश्वास गर्छन्, ती जर्नलहरुमा यहाँको सेवा समेट्न सकिन्छ,’’ जोनले भने, ‘‘हप्ता÷दश दिनको उपचारपछि सुगर, प्रेसर, डाइबेटिज, प्रोस्टेटको नियमित औषधी सेवन गर्नु पर्ने मान्छे विना कुनै औषधी पूर्ण रुपमा निको भएर फर्कनु भनेको चमत्कारिक तथ्य हो, त्यसलाई कुनै जर्नलमार्फत प्रचार गर्न सकियो भने यसले उनीहरुलाई नै धेरै फाइदा गर्छ ।’’
प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपञ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान अस्पतालकी डा. आजाद पुरीले बताइन् । अनेक ठाउँमा उपचार गराएर निको नभएका बिरामीका लागि यहाँको प्राकृतिक चिकित्सालय एउटा राम्रो विकल्प बनेको उनको भनाइ छ ।

हेर्नुहोस् भिडियो









