बोमलाला गिरी
नवलपुर, कात्तिक १५ गते । सरकारले भारत लगायतका छिमेकी मुलुकबाट मखमली र सयपत्री फूलको आयात र प्लास्टिकका फूल बिक्रि वितरणमा प्रतिवन्ध लगाएपछि स्वदेशी फूल उत्पादक किसान उत्साहित भएका छन् । योसँगै नवलपुर जिल्लामा सयपत्री फूल खेती गर्ने किसानको संख्या पनि उल्लेख्य रुपमा बृद्धि भएको छ ।
विगतमा दीपावलीमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय अन्य विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका भएका हुन् । अघिल्लो वर्ष दीपावलीका समयमा सयपत्री फूलको माग अत्यधिक बढे पनि किसानले मागअनुसार उपलब्ध गराउन सकेका थिएनन् ।
फूलको बिक्री बढेसँगै किसान पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका विष्णु कृषि तथा पशुपन्छी फार्म, कावासोतीका सञ्चालक बाबुराम केसीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सयपत्री फूलको व्यवशायिक खेती गर्ने किसानको संख्या तीन गुणाले बृद्धि भएको छ ।
जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकामा किसानले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरिरहेका कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । तर ज्ञान केन्द्रमा फूल खेती गर्ने किसानको छुट्टै दर्ता अभिलेख भने छैन । फूल खेती गर्ने किसानको तथ्यांक स्थानीय तहले राख्नुपर्ने भए पनि किसान सम्पर्कमा नआउँदा पालिकाहरूले समेत यकिन विवरण उपलब्ध गराउन नसकेको ज्ञान केन्द्रका अधिकृत सञ्जय ढकालले बताए ।
तिहार नजिकिँदै गर्दा पालिकाहरूले प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगमा रोक लगाउन सूचना प्रकाशित गरेका छन् । तर प्रभावकारी अनुगमन नहुँदा बजारमा प्लास्टिकका फूलमालाको बिक्रिवितरणमा कमि आउन नसकेको किसानले बताएका छन् । वर्षभरि नै सयपत्री र मखमली फूल उपलब्ध गराउन सके भारत लगायतका अन्य मुलुकबाट आयात हुने प्लास्टिकका फूललाई निरुत्साहित गर्न सकिने केसीले बताए ।
नवलपुरमा एक कठ्ठादेखि एक बिघा (२० कठ्ठा) क्षेत्रफलसम्ममा किसानले फूल खेती गर्दै आएका ज्ञान केन्द्रले जनाएको छ । कावासोती नगरपालिका–५ मा रहेको त्रिकन्या कृषि फार्मका सञ्चालक भेषबहादुर गाहाले विगत ६ वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएको बताए ।
गाहाका अनुसार भारतबाट फूल आयात नहुँदा नेपाली फूलले राम्रो बजार पाउने गरेको छ । तिहार लक्षित फूल होलसेल प्रतिकेजी ४५० र खुद्रा प्रतिकेजी ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए । उनले करिब ९ कठ्ठा क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् । आफ्नो खेतीमा कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए ।
७ कट्ठामा सदावहार फूल खेती गर्दै आएका केसीले वार्षिक १० लाख फूलको कारोवार हुने र ८ लाख आम्दानी हुने गरेको सुनाए । तिहार लक्षित फूलभन्दा बेमौसमी फूलले मुनाफा धेरै दिने गरेको उनको भनाइ छ । नगरपालिकाहररुले सम्पर्कमा आउने किसानलाई फूलको बीउ खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् ।
फूल खेतीलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न सके नवलपुरमा बाँझो तथा खाली रहेको जमिनबाट समेत राम्रो आम्दानी लिन सकिने किसानको भनाइ छ । जिल्लामा रहेका फूल किसानलाई एकजुट गराई आवश्यक तालिम, मल, बीउमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके जिल्लाभित्र मात्रै नभई अन्य जिल्लाको मागसमेत पूरा गर्न सकिने भुजेल कृषि फार्मका सञ्चालक सुरज भुजेलले बताए ।
पछिल्लो समय सयपत्री फूलका माला विभिन्न सार्वजनिक कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुने क्रम बढेपछि किसान मौसमी तथा वेमौसमी फूल खेतीतर्फ आकर्षित भएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोखरेलले बताए ।









