कात्तिक ९ देखि नवलपुर महोत्सव हुने, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड

नवलपुर, असोज २९ गते । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव–२०८३ आयोजना हुने भएको छ। महोत्सव कावासोती नगरपालिका–२ स्थित भाटटोलाको खेल मैदानमा  हुने आयोजकले जनाएको छ।

‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरको लागि नवौँ महोत्सवको उपयोगिता’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटन कात्तिक ९ गते गरिनेछ। महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने नवलपुर उद्योग वाणिज्य संघका अध्जअध्यक्ष सागर पोखरेलले जानकारी दिए ।

संघले जिल्लाको व्यापार, व्यवसाय र उद्योगधन्दाको संरक्षण, संवर्द्धन तथा विकास गर्दै उद्यमी र व्यवसायीबीच एकता र मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, कृषि र उद्योगको विकास, पर्यटनका सम्भावनाको पहिचान र लगानी आकर्षित गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले बताए  । साथै, स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षण, सांस्कृतिक पर्यटनको विकास र युवालाई उद्यमशीलतामार्फत स्वरोजगार बन्न प्रेरित गर्ने आयोजकको अपेक्षा छ।

महोत्सवका अवसरमा जिल्लाका होटलहरूमा विशेष छुट तथा जंगल सफारीमा सहुलियतको व्यवस्था गरिने आयोजकले जनाएको छ। यसबाट जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शन, मौलिक बाजा तथा लोकनाचको खोज र प्रवर्द्धनलगायतका गतिविधि सञ्चालन गरिनेछन्। नवलपुरका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई समेत प्राथमिकता दिइनेछ।

आयोजकका अनुसार महोत्सवको प्रवेश टिकट सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ। नेपाल सरकारबाट प्रदान गरिएको ज्येष्ठ नागरिक परिचयपत्र र शारीरिक अपाङ्गता भएका व्यक्तिको रातो कार्डबाहक तथा पाँच वर्षमुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिनेछ।

महोत्सवको संरक्षकमा कावासोती नगरपालिका रहेको छ भने नवलपुर उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति नवलपरासीलगायत विभिन्न स्थानीय तह तथा संघसंस्थाहरू सहआयोजकका रूपमा रहेका छन्।

आयोजकले महोत्सवले जिल्लाको आर्थिक तथा औद्योगिक विकासमा योगदान पुर्‍याउनुका साथै स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र नवलपुरलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।