नवलपुर, मंसिर ७ गते । युवाका समस्या, आवश्यकता र प्राथमिकतालाई स्थानीय सरकारको नीति, योजना तथा निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यले नवलपुरमा पहिलोपटक जिल्ला स्तरीय युवा सम्मेलन हुने भएको छ।
आगामी मंसिर ९ गते बुधबार कावासोतीमा आयोजना हुने प्रथम नवलपुर युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
नगर युवा सञ्जाल कावासोतीको आयोजनामा ‘युवाका आवाजदेखि निर्णय तहसम्म’ भन्ने मूल नारासहित हुन लागेको सम्मेलनबारे सञ्जालका अध्यक्ष पवन भुर्तेलले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनको नवलपुर क्षेत्र नं २ का सांसद मनिष खनालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहका युवा प्रतिनिधि, जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ । करिब २०० जनाको सहभागिता रहने अनुमान गरिएको सम्मेलनमा प्रत्येक स्थानीय तहबाट युवाका प्रतिनिधिले आफ्नो पालिकामा युवाले भोगिरहेका समस्या, चुनौती, आवश्यकता र सम्भावनाबारे प्रस्तुति दिने भुर्तेलले जानकारी दिए ।
सम्मेलनमा मुख्यतः चारवटा विषयगत सत्र सञ्चालन गरिनेछ। पहिलो सत्रमा स्थानीय तहका युवाका सवाल, बेरोजगारी, वैदेशिक रोजगारीको बाध्यता, सीप तथा व्यावसायिक शिक्षामा पहुँच, उद्यमशीलता र युवाका लागि उपलब्ध अवसरबारे छलफल हुनेछ।
दोस्रो सत्रमा युवाले उठाएका सवालमाथि प्रतिनिधिसभा सदस्य, नगर प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँग नीतिगत संवाद गरिनेछ। स्थानीय नीति, योजना तथा बजेटमा युवा प्राथमिकता कसरी समेट्ने, युवा लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन र निर्णय प्रक्रियामा युवाको सहभागिताका विषयमा छलफल हुनेछ।
त्यस्तै, तेस्रो सत्रमा विज्ञ, अनुभवी उद्यमी तथा सम्बन्धित क्षेत्रका सरोकारवालासँग युवाका लागि उपलब्ध सम्भावना र अवसरबारे अन्तरक्रिया हुनेछ। कृषि, पर्यटन, स्थानीय उत्पादन, स्वरोजगार, डिजिटल प्रविधि, सीप विकास र नयाँ व्यवसायका अवसरलाई छलफलको विषय बनाइनेछ।
सम्मेलनको अन्तिम सत्रमा अघिल्ला छलफलबाट प्राप्त सुझाव, निष्कर्ष र साझा प्राथमिकतालाई समेटेर ‘नवलपुर युवा घोषणापत्र–२०८३’ तयार गरिनेछ। उक्त घोषणापत्र जिल्लाका आठवटै स्थानीय तह तथा सम्बन्धित सरोकारवालासमक्ष प्रस्तुत गर्ने आयोजकको लक्ष्य छ।
सम्मेलनमा महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपांगता भएका तथा अवसरबाट वञ्चित समुदायका युवाको सहभागितालाई विशेष प्राथमिकता दिइनेछ आयोजकको भनाइ छ ।









