नवलपुर, मंसिर २ गते । नवलपुरको पहाडी क्षेत्रका किसान यतिबेला सुन्तला टिप्न र बजारसम्म पुर्याउन व्यस्त देखिएका छन् । जिल्लाका विभिन्न स्थानमा हरिबोधनी (ठूलो एकादशी)का अवसरमा शुक्रबार लाग्ने मेलालाई लक्षित गरी किसान सुन्तला टिपेर बजारसम्म पुर्याउन व्यस्त देखिएका हुन् । कतिपय किसानले बगैँचाबाट व्यापारीलाई सुन्तलाको बोट नै बेचेका छन् भने कतिपयले आफै टिपेर बजारसम्म पुरयाउने गरेका हुन् ।
नवलपुरको पहाडी क्षेत्र बबक, राइकोट, जौबारी, नगरडाँडा लगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा बिक्रीमा सहजता मिलेको बुलिङ्टार गाउँपालिका–५ का किसान लालबहादुर सारुले बताए ।
उनले गत वर्षको तुलनामा यो वर्ष उत्पादन, आम्दानी र क्षेत्रफल सबै बढेको बताए । यो वर्ष सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल भएको र रोग किराको प्रकोप नलाग्दा सुन्तला उत्पादन राम्रो भएको सारुले बताए । उनका अनुसार किसानले बगैचाबाट प्रतिकिलो ६०–६५ रुपियाँ बेच्ने गरेका छन् भने र बिचौलियाँले बजारमा लगेर ८०–९० रुपैयाँमा बेच्ने गरेका छन् । उपभोक्ताले भने प्रतिकिलो १५० देखि १८० रुपैयाँसम्म खर्च गर्नुपर्छ ।
कावासोतीका सुन्तला व्यापारी प्रेमलाल श्रेष्ठले एकादशीलाई लक्षित गरी आजमात्र चार गाडी सुन्तला खरिद गरेको बताए । जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरुबारी, झ्यालबास लगायतका ठाउँमा होलसेल मूल्यमा पठाउने गरेको र बाँकी रहेका सुन्तला मेलामा खपत हुने गरेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा २६० हेक्टर क्षेत्रफलमा एक हजार ३७५ टन सुन्तला उत्पादन हुने गरेको छ भने तीन हजार २०० कृषक सुन्तला खेतीमा आवद्ध छन् । केन्द्रका सुचना अधिकारी विश्वास काफ्लेका अनुसार गत आर्थिक वर्षमा ८ करोड ६६ लाख २५ हजार रुपियाँको कारोवार भएको थियो भने चालु आर्थिक वर्षमा उत्पादन बढेर ८ करोड ९७ लाख ७५ हजार पुग्ने अनुमान गरिएको छ ।









