नवलपुर, कात्तिक १५ गते ।
पश्चिम नेपालको महाकालीस्थित गड्डाचौकीदेखि पूर्वी नेपालको मेची पुलसम्मको पूर्व–पश्चिम साइकल यात्रा तीन युवाले पाँच दिनमै पूरा गरेका छन्।
नवलपुरको कावासोतीका सूर्यप्रसाद काफ्ले, नारायण पंगेनी र रमेश पौडेलले असोज ७ गते सुरु गरेको यात्रा असोज ११ गते साँझ ६ बजेर ५० मिनेटमा मेची पुल पुगेर सम्पन्न गरेका हुन्।
तीनै जना साइकल यात्रीले निर्धारित पाँच दिनको अवधिमा नेपालको पूर्व–पश्चिम दूरी साइकलमार्फत पार गर्दै आफ्नो साहस, धैर्य र दृढ इच्छाशक्ति प्रदर्शन गरेका छन्। उनीहरूको यात्रा पहिलो दिन इमिलियासम्म, दोस्रो दिन बर्दघाट, तेस्रो दिन हेटौँडा, चौथो दिन लहान हुँदै पाँचौँ दिन मेची पुल पुगेर टुंगिएको थियो।
यात्रा पूरा गरेपछि मेची पुलमा खुसी साट्दै तीनै जना साइकल यात्रीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिसँगै युवालाई सकारात्मक गतिविधिमा जोड्ने अभियानका रूपमा लिएका छन्।
उनीहरूको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनमा फसेका युवालाई खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधिमा सहभागी गराउनु रहेको काफ्लेले बताए ।
युवालाई घरभित्र सीमित नराखी आउटडोर खेलकुद, साइकलिङ तथा शारीरिक गतिविधिमा सक्रिय बनाउन सके स्वस्थ र अनुशासित जीवनशैली विकास गर्न सकिने काफणलेको विश्वास छ।
‘साइकलिङ स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै आत्मविश्वास, अनुशासन र सहनशीलता विकास गर्ने माध्यम पनि हो,’ भन्ने सन्देश प्रवाह गर्न यो साहसिक यात्रा गरेको उनीहरूको भनाइ छ।
‘एभ्रिडे लाइफ, लङ लाइफ’ भन्ने सन्देशसहित महाकालीदेखि मेचीसम्मको यो साइकल यात्राले युवामा इच्छाशक्ति, साहसिक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।









