एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष तेस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएल तेस्रो संस्करणसम्म पुग्दा अझ विशिष्ट हुने बताएका छन् । क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि आइसिसी मान्यता भइसकेपछि करिब एक महिना हुने एनपिएललाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी अझ बढेको बताए । हुन पनि यसपालि आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधिको पहिलो पटक प्रयोग, विदेशी खेलाडीको अनुबन्धमा थप सहजताका साथै स्टार क्रिकेटरहरूको जमघट र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिले एनपिएलको चर्चा थप चुलिएको छ ।
विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।
सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एक से एक टिम तयार पारेका छन् । यसपालि हरेक टिमसमक्ष कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियम छ । यद्यपि यसपालि हरेक टिमसमक्ष अझ धेरै विदेशी खेलाडीको विकल्प उपलब्ध भएको छ ।
तेस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर ५ गते उपाधि भिडन्त हुने छ ।
विजेतालाई एक करोड ५० लाख
यो पटक एनपिएलको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यो पुरस्कार रकम गत संस्करणको भन्दा धेरै हो ।
एनपिएलमा एक महिनाको अवधिमा १५० करोड रुपैयाँको कोराबार हुने बताइएको छ । प्रायोजनबाट १८ करोड र टिकट बिक्रीबाट ७० देखि ७५ करोड आम्दानी हुने अनुमान गरिएको छ ।
पहिलो पटक आइसिसीको आधिकारिक मान्यता
तेस्रो एनपिएलको आइसिसीबाट प्राप्त आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । यसबाट विदेशी खेलाडीहरूको अनुबन्ध लचिलो भएको छ । फलस्वरूप यसपालिको एनपिएलमा स्टार खेलाडीहरू धेरै छन् । तीमध्ये अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक अझ बढेको छ ।
डिआरएसको प्रयोग
यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डिआरएस) को प्रयोग हुने छ । अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा प्रविधिको सहायता लिइने छ । विशेष, एलबिडब्लु, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एक पालिमा दुई वटा असफल ‘रिभ्यु’ लिन पाउने छन् । डिआरएसको प्रयोग हुने भएपछि क्यानले खेल तालिकामा पनि परिवर्तन गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिमबिच उद्घाटन खेलमा सोमबार साँझ च्याम्पियन लुम्बिनी लायन्सले गत उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्ने छ । गत वर्ष लुम्बिनी फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराएर च्याम्पियन बनेको थियो । लुम्बिनी गत संस्करणकै लय देखाएर उपाधि रक्षा अभियानको सुरुवात सकारात्मक रूपमा गर्ने योजनामा छ । सुदूरपश्चिम भने बदला लिने दाउमा हुने छ ।









