बोमलाल गिरी
नवलपुर, कात्तिक १५ गते । आफ्नै जिल्लाको नजिक विद्यालय नभएपछि तनहुँको रिसिङ गाउँपालिका–५ मधुवनका २८ जना विद्यार्थी नवलपुरको बुलिङटार गाउँपालिका–४ मा रहेको रम्भादेवी प्राथमिक विद्यालय र त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत थिए । रम्भादेवीमा ८ जना त्रिभुवन माविमा २० जना अध्ययनरत रहेका रम्भादेवीका प्रधानाध्यापक सूर्यप्रसाद कंडेलले जानकारी दिए ।
तर गत भदौ १० गते आएको विनासकारी कालिगण्डकी बाढीले पक्की पुलको विकल्प बनेको झोलुङ्गे पुल बगायो । ठेक्का लागेको १० वर्षसम्म पक्की पुल अलपत्र भइरहँदा विकल्प बनेको झोलुङ्गे पुल पनि बाढीले बगाएपछि मधुवनका आधा विद्यार्थी पढाईबाट बञ्चित भएका प्रअ कंडेलले बताए ।
‘‘भाडा तिर्न सक्नेहरु यतै कोठा लिएर बसेका छन् । नसक्ने १५÷१६ जना विद्यार्थी विद्यालय आउनै सकेका छैनन्,’’ प्रअ कंडेलले भने, ‘‘घुमाउरो बाटो हिँडेर आउन चार÷पाँच घण्टा लाग्ने भएकाले सम्भव नै छैन । उनीहरु दुई महिनादेखि विद्यालय आउन सकेका छैनन्, यसले उनीहरुको पढाई नराम्रोसँग डिस्टर्ब भएको छ ।’’
बाढीले बुलिङटार–४ कोखे र तनहुँ रिसिङ्ग गाउँपालिका ५ मधुवन जोड्ने झोलुङ्गे पुल बगाउँदा विद्यार्थी मात्र होइन दुबै तिरका स्थानीयलाई नदी वारपार गर्न निक्कै सकस परेको बुलिङटार–४ का वडाध्यक्ष मिन बहादुर आलेले बताए ।
मधुवन र फूलमादी छेउको कोखेटार जोड्ने कालीगण्डकीको गडगडीघाट कास्कीको पोखरा, तनहूँको भिमाद, रिसिङ, रानीपोखरी हुँदै नवलपुरको धौवादी, कावासोतीदेखि त्रिवेणी जोड्ने ऐतिहासिक मार्ग पनि हो ।
यही प्राचीन नदीघाटलाई लक्षित गर्दै केही दशकअघि गडगडीघाटमा बनेको झोलुङ्गे पुल कालीगण्डकीको तिव्र बाढीले लछार्दा तहसनहस भएको छ भने नजिकैको निर्माणाधीन पक्की पुल वर्षाैंदेखि निर्माण कम्पनीको लापरबाहीले अलपत्र रहेको छ ।
‘‘पक्की पुल बनेपछि गाडी चढेर सरर कालीगण्डकी वारपार गरौँला भन्ने सपना थियो, तर ठेकदारको लापरबाहीले पक्की पुल बन्ने आशा मरेर गयो,’’ निकै टाढाको अत्रौली पुल तरेर कोखे आइपुगेका रूपटारका मोतीलाल नेपालीले भने ।
एउटा पुल बनाउन ७ पटक म्याद थप
निर्माण कम्पनीको लापरबाहीले कालीगण्डकी नदीमा १० वर्षदेखि अलपत्र पुल बनाउन ७ पटक म्याद थप भएको छ । छैटौं पटक थपिएको म्याद गत चैत मसान्तमा सकिएपछि थप एक वर्षका लागि म्याद थप भएको हो ।
पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीका अनुसार हालसम्म पुलको भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगती ६० प्रतिशत भएको छ । ठेकेदार कम्पनीले १३ करोड रुपियाँ भुक्तानी लगिसकेको सुवेदीले बताए ।
२०७३ साल असार २९ गते पुल निर्माणको सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपियाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए ।
जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो । पटक–पटक म्याद थपिने गरेको भए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ । “विगतमा विभिन्न बहाना देखाएर काम गरेनन्, २०७६ सालदेखि ०८१ सम्म प्रगती शून्य जस्तै थियो, यो वर्ष केही काम भएपनि अहिले फेरि मुल्य वृद्धि र महङ्गीको बहाना देखाएर अपेक्षाकृत उपलब्धी हुन सकेको छैन,’’ सुवेदीले भने ।
काम थालेको १० वर्षमा कालीगण्डकीमा ४ वटा पिलर ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा ५ स्पान रहने डिजाईनमा भएको भए पनि अहिलेसम्म दुईवटा स्पानको मात्रै काम भएको उनले जानकारी दिए ।
दुरीका हिसावले गड्गडीघाटको पुल पूर्वपश्चिम राजमार्ग र पहाडी पृथ्वी राजमार्गलाई जोड्ने छोटो पहुचमार्ग हो । नवलपुरको कावासोती, दलदलेबाट केवल ७९ किलोमिटरको सडक मार्गले तनहुँको खैरेनीटार छिचोल्ने भएकोले यी २ जिल्लाका पहाडी बस्तीको संगम गड्गडीघाटमा पुलको निर्माण कार्य द्रुत गतिमा हुनुपर्ने स्थानीयको माग छ ।
गड्गडीघाटमा पक्की पुल बन्ने हो भने यहाँका अर्खला, राईकोट, भारतीपुर, ढाँसी, बुलिङ्ग, डाँडाझेरी क्षेत्रका सुन्तला, कागती, अमिलो, अदुवा, अम्रिसो जस्ता कृषिजन्य उत्पादनले पोखरा, दमौली हुँदै काठमाडौं सम्मको बजार पाउने स्थानीय कृषक मदन बहादुर आलेले बताए ।









