नवलपुरसहित गण्डकीका सबै ११ जिल्लामा नेकपाको दुईमहिने जागरण अभियान सुरु

नवलपुर, कात्तिक १५ गते । नेपाली कम्युनिष्ट पार्टी नवलपुरले संगठन सुदृढीकरण, राष्ट्रिय महाधिवेशनको तयारी तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नवलपुरसहित गण्डकी प्रदेशका सबै ११ जिल्लामा दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

पार्टीको केन्द्रीय योजनाअनुसार कात्तिकदेखि मंसिरसम्म सञ्चालन हुने अभियानको नवलपुरमा नेकपाका नेता दिनानाथ शर्माले आरम्भ गरे । अभियान नवलपुरका आठवटै पालिका र ५२ वटै वडामा विस्तार गरिने नेकपा नवलपुरले जनाएको छ ।

अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, पार्टी शुद्धीकरण, कार्यालय व्यवस्थापनमा सुधार र संगठनलाई व्यवस्थित बनाउने कार्यक्रम सञ्चालन गरिने नेकपाका नवलपुर इन्चार्ज मित्रशरण शर्मा विहानीले जानकराी दिए । त्यस्तै, सबै तहमा एकता भेला तथा बैठक सम्पन्न गर्ने, पार्टीका नेता तथा कार्यकर्ताको कार्यविभाजनलाई प्रभावकारी बनाउने र पुराना छुटेका कार्यकर्तालाई पुनः पार्टीमा जोड्ने लक्ष्य राखिएको छ ।

पार्टीले पुस ११ गते जिल्लाका ५२ वटै वडा र माघ १२ गते आठवटै पालिकामा अधिवेशन गर्ने तयारीसमेत गरेको छ ।त्यसैगरी, स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीलाई पनि अभियानले प्राथमिकतामा राखेको शर्माले बताए ।  यस क्रममा जनतासँग प्रत्यक्ष रूपमा जोडिने, उनीहरूका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने तथा निर्वाचनमा उठ्ने योग्य, इमानदार र जनतामाझ लोकप्रिय उम्मेदवारको आधार तयार गर्ने योजना बनाइएको छ ।

सूचना तथा सञ्चारका माध्यमबाट दैनिक रूपमा जनतासँग जोडिने, प्रवासमा रहेका पार्टी कार्यकर्ता तथा उनीहरुका परिवारसँग समन्वय गर्ने र मतदाता नामावलीमा नाम थपघट तथा अद्यावधिक गर्न सहजीकरण गर्ने कार्यक्रम पनि अभियानमा समेटिएको नेकपाले जनाएको छ ।

सरकारका गलत गतिविधिबारे जनतालाई सचेत गराउने अभियान पनि सञ्चालन गरिने पार्टीले जनाएको छ । गणतन्त्र, संविधान र राष्ट्रियताका विषयमा जनतालाई सुसूचित गराउने, सुकुम्बासी तथा भूमिहीनका समस्या उठाउने, भोटेकोसी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रमा भएका प्राकृतिक प्रकोपका विषयमा सरकारको कमजोरीबारे जनतालाई जानकारी गराउने योजना छ । त्यस्तै, महँगी, भ्रष्टाचार र बेथितिका विषयमा जनतालाई सचेत गराउँदै जनताका आवाज र समस्यालाई उठाउने पार्टीको तयारी छ ।

हेर्नुहोस भिडियो