राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा परम्परागत ‘नेताको मनोमानी र कोठाभित्रबाट टिकट वितरण’ अन्त्य गर्ने दाबीसहित ‘उम्मेदवार छनोट रूपरेखा’ सार्वजनिक गरेको छ ।
पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ को परिच्छेद-९ अन्तर्गत राखिएको विशेष व्यवस्थाले यस्तो व्यवस्था गरेको हो। रूपरेखाअनुसार अब पार्टीबाट पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न चार चरण पार गर्नुपर्नेछ ।
उम्मेदवार बन्न चाहने आकांक्षीहरूले पाउने टिकट १०० पूर्णाङ्कको समग्र मूल्याङ्कनका आधारमा तय हुने जनाइएको छ।
प्रारम्भिक निर्वाचन- ४० प्रतिशत
लिडरसिप एकेडेमी- २५ प्रतिशत
पोलिटिकल प्रोक्सिमिटी (संगठन र लोकप्रियता)- २५ प्रतिशत
समावेशिता(सीमान्तकृत तथा विविधता)- १० प्रतिशत
रास्वपाका अनुसार प्रारम्भिक निर्वाचन हुनुअगावै लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मूल्याङ्कन सम्पन्न गरी अंक केन्द्रीय सर्भरमा गोप्य रूपमा ‘डिजिटल लक’ गरिने छ । सबै प्रक्रिया सकिएपछि मात्र डिजिटल लक खोलेर एकमुष्ट स्कोरकार्ड सार्वजनिक गरिनेछ।
उम्मेदवार बन्न चाहने जोकोहीले पार्टीको ‘लिडरसिप एकेडेमी’ अन्तर्गत १० वटा विषयगत मोड्युलमा तालिम लिएर परीक्षा उत्तीर्ण गर्नु पर्नेछ। यसमा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, बजेट निर्माण, सुशासन, सार्वजनिक खरिद, डिजिटल साक्षरतार एआईको प्रयोग, विपद् व्यवस्थापन र सञ्चार कलाजस्ता विषय राखिएको छ। परीक्षामा न्यूनतम मापदण्ड पार गर्न नसक्ने आकांक्षी छनोट प्रक्रियाबाट स्वतः बाहिरिने रूपरेखामा बताइएको छ।









