नवलपुर, कात्तिक २२ गते । नवलपुरका आदिवासी थारु समुदायले आजदेखि हर्षोल्लासका साथ सोहराई (तिहार) पर्व मनाउँदै छन् । दशैको १६ दिन पछि पर्ने पर्व भएकाले सोहराई भन्ने गरिएको एकाथरी मान्यता छ भने अर्कोतर्फ दशैमा १० प्रतिशत धान पसाउँने र तिहारमा सोह्रै आना अर्थात शतप्रतिशत धान पसाउने भएकाले सोहराई भन्ने गरिएको थारु समुदायका अगुवा गणेशमान महतोले जानकारी दिए ।
सोहराईको आफ्नै मौलिक महत्त्व र विशेषता छ । यस पर्वमा नयाँ धानको चामलको पिठोबाट बाफमा पकाएका विभिन्न आकार र प्रकारका रोटी बनाउने परम्परा रहेको छ । कृषि कर्मसँग जोडिएका सामाग्रीहरुको पुजा गरेर सोहराई मनाउने चलन थारु समुदायमा रहेको छ ।
यस अवसरमा औशीको साँझ विभिन्न आकार र प्रकारका रोटीलाई पुजा गर्ने र केटाकेटीलाई लुटाउने प्रचलन रहेको छ । मन्त्र जप्ने र गाई गोरुलाई देखाएर रोटी भित्राउने गरिन्छ । भोलिपल्ट बिहान सबै औजार, घरका सबै कोठा, कुल देवता, (कुलहार) भूँई देवता (भुुँइहार) को पुजा गरी अन्त्यमा भालेको बलि दिने चलन रहेको महतोले बताए । औसीको दिनलाई सोहराई र भोलि पल्टलाई देउराई भन्ने गरिन्छ ।
वर्षभरि मेहनत गरेर खेतीपातीबाट भित्राइएको नयाँ अन्न तथा कृषि उपजप्रति कृतज्ञता प्रकट गर्दै यस अवसरमा खेतीपातीमा प्रयोग हुने औजार र सामग्रीको पूजा गर्ने गरिएको उनको भनाइ छ । महतोका अनुसर सोहराईमा बनाइने रोटीका पनि विभिन्न प्रकार र आकृति हुन्छन् ।
सोझुवा रोटी, ढुकुर, डुङ्गा, देगुवा, दियो, धमराज, भकारी, गाई, हलो र दाउराको भारीलगायतका आकृतिमा रोटी बनाइन्छ । यी रोटीले थारू समुदायको कृषि जीवनशैली, प्रकृतिसँगको सम्बन्ध, धार्मिक आस्था र मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्छन् ।
औसीको दिनमा पुजा गर्ने र रातभर गाउँने, नाच्ने गरेर रमाइलो गर्ने चलन रहेको छ । वाफमा पकाउने चामलको पिठोको रोटीलाई नग्गर भनिन्छ, जो सोहराईका बेलामा खाने गरिन्छ । नयाँ अन्नको सम्मान, कृषि औजारको पूजा र परम्परागत रोटीका विविध आकृतिमार्फत थारू समुदायले आफ्नो पुख्र्यौली संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आएको छ ।









