नवलपुर, बैशाख ५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।
झरही खोलाबाट रजहर तर्फ जाँदै गरेको जेसीबीको पछाडी नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कारले नम्बर नखुलेको मोटरसाइकललाई जोगाउने क्रममा जेसबिीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा कारमा सवार एकै घरका पाँच जना घाइते भएका छन् । कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उहाँकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, उहाँका तीन वर्षका छोरा आयान र ९ महिनाको छोरा वेदाक्ष तथा आमा ५६ वर्षीय कमला ज्ञवाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरक्षिक अलिन पण्डितले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाएको प्रहरीले जनाएको छ । कार, जेसीबी र जेसीबी चालक देवचुली–१७ का रामु कडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।









