स्थानीय पालिकाले टेरेनन् संघीय सरकारलाई, नवलपुरमा ७ देखि भर्ना, ९ गतेदेखि पढाई

बोमलाल गिरी 
नवलपुर, बैशाख ५ गते । संघीय सरकारको निर्देशन विपरित नवलपुरका विद्यालयहरुले बैशाख ७ गतेदेखि नै भर्ना अभियान सञ्चालन गर्ने भएका छन् । संघीय सरकारले बैशाख १५ गतेदेखि भर्ना अभियान चलाउने र २१ गतेदेखि पठनपाठन गराउन निर्देशन दिए पनि स्थानीय विद्यालयहरुले पालिकाको निर्णयअनुसार एकहप्ता अघि भर्ना र दुई हप्ता अघि नै पठनपाठन सुरु गर्न लागेका हुन् ।

कावासोती नगरपालिकाले ७ गतेदेखि भर्ना सुरु गर्ने र ९ गतेदेखि पठनपाठन गराउन पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरलाई निर्देशन दिएको छ । विद्यालय शिक्षाका प्रमुख सरोकारवालाहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भमिलाल अधिकारीले स्थानीय अभिभावले दबाब दिएको, पाठ्यक्रमले निर्धारण गरेको न्यूनतम पाठ्यघण्टा पुग्ने गरी वार्षिक शिक्षण योजना निर्माण नभएको र कक्षा १२ को बोर्ड परीक्षाका कारण पनि समस्या हुने भएकाले छिटो भर्ना र पठन पाठन गराउनु परेको बताए ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी केन्द्रको निर्णयअनुसार चल्दा बालबालिकाको भविष्यमा असर पर्ने भन्दै भविष्यसँग खेलवाड गर्न नसकिने बताउँछन् । हप्ताको दुई दिन बिदा तथा भर्ना र पढाई पनि ढिला सुरु गर्दा न्यूनतम पाठ्यघण्टा पुरा गर्न समस्या हुने विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख घनश्याम गिरीको भनाइ छ । उनले पहिले त्यहीअनुसारको पाठ्यक्रम निर्धारण गर्न पनि आग्रह गरे ।

पालिकाको निर्णयअनुसार आफुहरु भर्ना र पठनपाठनका लागि तयारी अवस्थामा रहेको कावासोतीको सिद्धार्थ आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापक भोजराज दाहालले बताए । उनले पालिकाले तोकेअनुसार एक महिनाको मासिक शुल्क बराबरको भर्ना शूल्क भने लिने बताएका छन् ।