नवलपुर प्रशासनमा मिटरब्याज पीडितका चार दर्जन निवेदन दर्ता

नवलपुर, बैशाख २२ गते । नवलपुरमा मिटरब्याजबाट पीडित भएकाहरुको निवेदनको चाङ लाग्न थालेको छ । अहिलेसम्म कार्यालयमा ४८ वटा निवेदन दर्ता भएका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो । उनीहरुले आफूहरु जनप्रतिनिधिबाट समेत पीडित भएको आरोप लगाउँदै निवेदन दिएका छन् ।

एउटै व्यक्ति ११ जनाबाट ठगिएको भन्दै निवेदन परेको प्रजिअ पाण्डेले बताउ । यी निवेदनमाथि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, जिल्ला प्रहरी प्रमुख र जिल्ला न्यायाधिवक्ता सहितको समिति बनेको भन्दै उनले उक्त समितिको सिफारिसका आधारमा कारवाही प्रकृया अघि बढाउने बताए ।

‘‘समितिले सबै निवेदन अध्ययन गर्न, छानविन गर्छ, दुबै पक्षलाई बोलाएर छलफल गर्छ, मिलापत्र हुन सके हुन्छ, भएन भने कारवाही सिफारिस वा कानुनी उपचारका लागि सम्बन्धित ठाउँमा जानलाई सुझाव दिन्छ,’’ प्रजिअ पाण्डेले भने । तर माग दावीमा दुबै पक्षको ठुलो भिन्नता देखिने गरेकाले सहमति गराउन समस्या भएको पाण्डेले बताउ ।

अहिलेको नयाँ सरकारबाट मिटरब्याज पीडितका बारेमा ठोस निर्देशन नआए पनि पहिलेको सरकारको निर्देशन अनुसार नै निवेदनहरु संकलन गरी मिलापत्रको प्रयास गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए ।

तर पीडितहरुले भने प्रशासनले मिलापत्रको आश्वासन दिए पनि पीडकहरुको पहुँच र प्रभावका कारण पीडितहरुलाई नै दोषी देखाइने र मिल्न दबाब दिने गरेको आरोप लगाएका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर संघर्ष समितिका जिल्ला अध्यक्ष शारदा पौडेलले दर्ता भएका निवेदनहरुको निष्पक्ष छानविन गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन र पीडकलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनलाई कडा कदम चाल्न आग्रह गरिन ।

‘‘कानुनी लडाई पनि लडिरहेका छौं, लड्दालड्दै हामी थाकिसकेका छौं,’’ पौडेलले भनिन्, ‘‘पीडित सधै पीडित मात्र भयो, पीडकको पहुँच र प्रभावका कारण हामीले न्याय पाउन सकेनौं ।’’