गुल्सन झाको घातक बलिङ र आशिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ।
मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै नेपालले अघिल्लो खेलमा हारको बदला लिएको छ । योसँगै नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ।
यूएईलाई पहिलो खेलमा डीएल मेथडमा नै नेपालले ६ रनले हराएको थियो। दोस्रो खेलमा ३७ रनको जित दर्ता गरेको थियो। नेपालले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १ सय ७५ रन बनाउँदा अलआउट भयो।
ओमानलाई कम स्कोरमा रोक्न गुल्सन झा ले ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन खर्चे। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान एक विकेट आफ्नो नाममा गरे।
ओमानका लागि विनय शुक्लाले ३६ रन बनाए। हम्मद मिर्जाले ३४, हस्नैन वाहावले २९ रन बनाए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल अगावै २ सय ५६ रनमा अलआउट भयो।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा नदिम खानको बलमा क्याच आउट भए। दोस्रो विकेटका लागि आशिफ र अर्जुन कुमालले १ सय २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
अर्जुन कुमालले ४८ रन थपे। उनले ८७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झा १७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेलले ९ रन बनाए। विनोद भण्डारी र करण केसी डक आउट भए।
दीपेन्द्रसिंह ऐरी ३३ रन बनाउँदा नदीम खानको बलमा बोल्ड आउट भए। नन्दन यादव २ रन बनाउँदा सकिल अहमदको बलमा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने १ रनमा रनआउट भए। २३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका आरिफ शेख ४३ रनमा क्याच आउट हुन पुगे। ललित राजवंशी शुन्यमा नै अविजित रहे।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमद र हसनैन शाहले समान २ विकेट लिए आफ्नो नाममा गरे। जितेन रामानन्दी र आर्यन विष्टले समान एक विकेट लिए।
नेपालले अब घरेलु मैदानमा स्कटल्यान्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। सो सिरिज १२ मेदेखि सुरु हुनेछ।









