नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईमा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा अन्सोल्ड भएका छन् ।
हिजो यूएईको दुबईमा रहेको आईसीसी एकेडेमीमा भएको अक्सनमा दीपेन्द्रले आफ्नो न्यूनतम मूल्य १० हजार अमेरिकी डलर अर्थात झण्डै १५ लाख ४३ हजार रुपैयाँ तोकेर नाम दर्ता गराएका थिए । तर, अक्सनको १९औँ सेटमा उनको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन् । त्यससँगै उनी अन्सोल्ड भएका हुन् ।
दीपेन्द्र यसअघि आईएल टी–२० को गल्फ जायन्ट्स टोलीमा लगातार दुई सिजन आबद्ध भएका थिए । तर, दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन् ।
यसपटक पनि उनी गल्फ जायन्ट्सको सम्भावित रोजाइमा रहेका खेलाडीमध्ये थिए । अक्सनअघि सार्वजनिक गरिएको खेलाडी सूचीमा दीपेन्द्रलाई नेपालका क्याप्ड अलराउन्डरका रूपमा राखिएको थियो र उनको न्यूनतम मुल्य अर्थात वेस प्राईस १० हजार अमेरिकी डलर तोकिएको थियो ।
आईएल टी–२० को पाँचौँ संस्करण अर्को महिना नोभेम्बर २१ देखि डिसेम्बर २० सम्म हुँदैछ ।







