एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्यो ।
यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने व्यवस्था छ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २६८ रनमा समेटियो। यूएईका लागि राहुल चोप्राले शतक बनाए। उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा शतक बनाएका हुन्।
त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए।
यसअघि नेपालले आसिफ शेखको शतकका नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आशिफले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०४ रन बनाएका थिए।
त्यस्तै, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात, करण केसी र ललित राजवंशीले एक–एक रन बनाए।









