रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ। आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन्। स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो।
स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको बलियो आश्रयस्थल थियो। गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव सहन सक्ने गरी बनाइएको थियो। तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागीसमेत भएको थियो।
युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि उक्त भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो। आक्रमण हुँदा त्यहाँ स्थानीय बासिन्दा राहत सामग्री लिन भेला भएका थिए।









