बोमलाल गिरी
नवलपुर, साउन १४ गते । बर्खामा माथिल्लो भेगमा कालो बादल लाग्यो वा लगातार झरी पर्न थाल्यो भने नवलपुरको मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी नदी किनारमा रहेको सेहरी गाउँका वासिन्दाको निद्रा हराउँछ । वि.सं. २०५८ सालमा नारायणी नदी बस्तीमा छिरेर सेहरी गाउँ डुबान तथा कटानमा परेपछि यहाँका वासिन्दालाई वर्खा लाग्ने बित्तिकै त्रास सृजना हुन्छ । त्यो बेलाको बाढीले सेहरीको बस्ती नै स्थानान्तरण गर्नु परेको स्थानीय स्मरण गर्छन् ।
‘‘त्यो डुबानले हामीलाई लामो समय घर र घाटको बनायो, हामी यहाँबाट विस्थापित भएर ६ महिनासम्म कावासोती–१६ डण्डा गएर वनको जग्गामा बस्यौं,’’ सेहरीका ६५ वर्षीय ओम नारायण महतोले स्मरण गरे, ‘‘त्यसपछि घडेरी पाउने आशमा चोरमारामा पनि बस्यौं, तर कतै पनि स्थायी व्यवस्थापन नभएपछि फेरी सेहरीमै आएर बसिरहेका छौं, फेरी पनि त्यस्तै बाढीले सबै बगाएर लैजाने होकी भन्ने त्रासले राति सुत्दा निद्रा पनि लाग्दैन ।’’
२०८१ असोजमा पनि नारायणी नदी बस्तीमा छिर्दा तटीय क्षेत्र डुबानमा पर्यो । नदीबाट मध्यविन्दुको सितापुर, नन्नपुर, सेहरी, भुताहा, कोलकाता, भडारा, धजाहलगायत क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परे । ७० जनाभन्दा बढीलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ सारियो । तर अव भने यहाँबाट स्थानान्तरणभन्दा पनि नारायणीमा बलियो तटबन्ध बनाइदिन महतोको आग्रह छ ।
अर्का स्थानीय ६६ वर्षीय पिताम्बर थारुले हुनेखाने जमिन्दारहरु यहाँबाट अन्यत्रै गएर महल बनाएर बसेको भए पनि आफूहरुलाई जोखिम नै भए पनि यो ठाउँ छोड्नुको विकल्प नरहेको बताए । ‘‘लगातार पानी परिरहँदा फेरी त्यही नियती भोग्नु पर्ने हो कि भन्ने चिन्ता लाग्छ,’’ थारुले भने, ‘‘हामी त थारु भाषामै कुरा गछौं, ०५८ र ०८१ सालकै जस्तो बाढी फेरी आयो भने कता गएर ज्यान जोगाउने होला भनेर सरसल्लाह पनि गछौं ।’’
त्यो बेला नारायणीले धान रोपोको सयौं बिघा जमिन, पशुचौपाया, अन्नबाली सबै बगाएर लगेपनि आफूहरु भने लिटिल फ्लावर विद्यालयको छतमा बसेर ज्यान जोगाएको उनले सुनाए । बाढीबाट विस्थापितहरु धजाहको पुरै वस्ती अहिलेपनि मध्यविन्दुको चोरमारा टाँडीमा सरकारले दिएको १० धुर जग्गामा संरचना निर्माण गरेर बसिरहेका छन् ।
स्थानीय भिम बहादुर महतोले दिउँसोको समयमा त जसोतसो ज्यान जोगाउन सकिने भए पनि रातिमा बढी पसे के होला भन्दै चिन्ता व्यक्त गरे । उनले जनसंख्या धेरै भए पनि उद्धारका लागि प्रयाप्त डुंगासमेत नभएकाले जोखिम बढिरहेको बताए । महतोले माथिल्लो बस्तीबाट नारायणी छिर्ने भएकाले तल्लो तटीय क्षेत्रबाट भाग्ने अवसर समेत नपाउने हुँदा तटबन्ध निर्माणमा जोड दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले भने नारायणी नदीको धेरै ठाउँमा तटबन्ध गरिएकोले त्यति धेरै डराउनु पर्ने अवस्था नरहेको बताउँछन् । सिंचाई कार्यालय नवलपुर र सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले अघिल्ला दुई तीन वर्षको तुलनामा तटबन्ध निर्माणमा अहिले केही राम्रो काम गरेकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘‘नौ वटा गण्डकी मिसिएर बग्ने नारायणी कुन बेला, कसरी उर्लेर आँउछ अनुमान गर्न सकिन्न,’’ वडाध्यक्ष अधिकारीले भने, ‘‘तर सतर्क हुनपर्छ, आत्तिहाल्न पर्दैन ।’’
उनले भरतपुरको तुलनामा नवलपुरमा तटबन्ध निर्माणको काम सन्तोषजनक हुन नसकेको गुनासो गरे । नारायणी चितवनभन्दा नवलपुरमा लामो क्षेत्रफलमा बग्ने भएपनि काम यता सुस्त हुँदा बाढी आउने बित्तिकै त्रासमा बस्नु पर्ने अवस्था रहेको अधिकारीले बताए । ‘‘चितवनमा रेनु दाहालले संघीय बजेट पारेर काम गर्नुभयो, यहाँ भने त्यत्तिको नेता भएनन्, बजेट नै पर्दैन, बजेट नभइ कामै हुँदैन,’’ अध्यक्ष अधिकारीले भने ।
तटबन्ध बनाउन छैन बजेट
नारायणीको जोखिम रहेका क्षेत्रहरुमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले तटबन्ध निर्माणको काम गरिरहे पनि प्रयाप्त बजेट नहुँदा समस्या भएको बताएको छ । यहाँको जोखिम युक्त केही ठाउँमा तटबन्ध निर्माणको काम भइरहे पनि प्रयाप्त बजेट नहुँदा पूर्ण रुपमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख डा नारायण प्रसाद सुवेदीले बताए ।
उनका अनुसार एक किलोमिटर क्षेत्रफलमा तटबन्ध बनाउन झण्डै २५ देखि ४० करोड रुपैयाँसम्म लाग्छ । नवलपुरको नारायणी क्षेत्रको झण्डै ३५ देखि ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नु पर्ने र त्यसका लागि झण्डै सात अबै रुपैयाँको बजेट सुनिश्चित हुनुपर्ने डा सुवेदीको भनाइ छ ।
मनसुनजन्य प्रकोपका कारण नवलपुर उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, कावासोती र देवचुली नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा रहेका पालिका रहेका छन् ।








