घाँगी भिरबाट निस्केको धुवाले ज्यानै लिन सक्ने विज्ञको चेतावनी (भिडियोसहित)

बोमलाल गिरी
नवलपुर, असोज ३ गते । नवलपुरको सुन्दर र शान्त हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ पेलेगा यति बेला निक्कै चर्चामा छ । पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धँुवा निस्कन थालेपछि यो ठाउँले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा पाएको हो ।

खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टबाट आएका विज्ञहरुको टोलीले चट्टानमा कार्वन मनोअक्साइड नामक तत्व भएकाले जमिन मुनिबाट निरन्तर धुवा आइरहेको प्ररम्भिक निष्कर्ष निकालेको छ । यो ग्यास कति खतरनाक हो र यसले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने अहिले मुख्य चासोको विषय भएको छ ।

ग्यास निस्केको जमिन भित्रको तापक्रम २५० डिग्रि सेल्सियस रहेको बताइएको छ । जसले हरियो घाँस र काँचो ठाउरालाई एकैछिनमा खरानी बनाइदिन्छ । यसले यो ठाँउमा मात्र नभइ आसपासका क्षेत्रमा समेत खतराको घण्टी बजाएको छ । गन्धक, कोइलायुक्त चट्टान र पानी बीचको तिब्र रसायनीक प्रतिक्रियाका कारण उत्पन्न यो ग्यास कति खतरनाक छ त ?

जनस्वास्थ्य विज्ञ डा नरनाथ पाण्डे भन्छन्, ‘‘विषालु, रंगहीन, गन्धहीन र स्वादहीन कार्बनयुक्त यो ग्यासले स्वास्थ्यमा भयानक असर गर्छ, यो ग्यास नाकबाट प्रवेश गरी फोक्सोमा जान्छ, जुन अक्सिजन सप्लाई गर्ने हेमोग्लोबिनसँग मिल्छ र कार्बोक्सि हेमोग्लोबिन ग्यास तयार गर्छ । यसले हेमोग्लोबिनलाई नियन्त्रण गरी अक्सिजन सप्लाई गर्ने क्षमता कमजोर बनाइदिन्छ । ८ सेकेन्डसम्म पनि मस्तिस्कमा अक्सिजन पुग्न पाएन भने मस्तिस्का सेल बन्द हुन्छन् । यसको असर मृगौला, कजेजो, मुटु र मस्तिस्कमा अत्यन्तै नकारात्मक असर गरी ब्यक्ति तत्काल बेहोस भइ मृत्यु पनि हुन सक्छ ।’’

स्थानीयका अनुसार सन २०१२ देखि नै यहाँ बेलाबेला धुँवा पुत्ताउने गथ्र्यो । तर विगत ६ महिनादेखि भने अत्याधिक मात्रामा धुँवाको मुस्लो निस्किरहेको छ । विज्ञ टोलीले धुँवा निस्किरहेको ठाउँको प्रारम्भिक अध्ययन गर्दा यहाँ सोचेभन्दा निक्कै भयावह दृश्य औंल्याएको छ । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले यो ग्यास नजिक जीवजन्तु पुग्दासमेत सास फेर्न गाह्रो हुने बताए ।

जनस्वास्थ्य विज्ञ डा पाण्डेले खुल्ला ठाउँबाट निस्किएको ग्यासले वातावरणमा समेत असर गर्ने भएकाले यो ठाउँलाई खतरनाक क्षेत्र घोषणा गर्नु पर्ने बताए । उनले विज्ञ टिमले माटो, पानी, चट्टान र धुँवाका अवशेषको नमूना परिक्षणका लागि लिएकाले तत्काल यसको रिपोर्ट सार्वजनिक गरी नेपालकाले नसके विदेशी विज्ञ टिम बोलाएर भएपनि अनुसन्धान गर्नु पर्ने बताए । जति ढिला भयो त्यति नै यो धुँवाले जनस्वास्थ्य र वातावरणमा असर गर्ने डा पाण्डेको भनाइ छ ।

अहिले यहाँ फोटो खिच्ने तथा नजिकबाट धुँवा निस्केको दृश्य नियाल्नेहरुको भिड लाग्ने गरेको छ । यसले उनीहरुमा तत्काल असर गरेको नदेखिए पनि कमजोर स्वास्थ्या भएका वा दिर्घ रोगिहरुमा हेमोग्लोबिनको मात्रा कमी भइ तत्काल असर देखिन सक्ने भएकाले सचेत हुन डा पाण्डेको आग्रह छ । खुल्ला वातावरणमा ग्यास आएर हावामा मिसिएको र घनत्व कम भएकाले पनि तत्काल असर नदेखिए पनि अत्यन्त विषात्त ग्यास भएकाले यसबाट जोगिनु उत्तम हुने उनको भनाइ छ ।

हेर्नुहोस् भिडियो