जिप दुर्घटनामा मन्त्री पत्नीसहित दुई जनाको मृत्यु, घाईते मन्त्रीको अवस्था गम्भीर

कैलाली । बझाङमा जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र उनकी भाउजूको मृत्यु भएको हो ।

बझाङका डीएसपी जागेश्वर भण्डारीका अनुसार ज्यान गुमाउनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेका छन् ।

गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । घाइते हुनेमा मन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारी रहेका छन् ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको थियो ।