नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि हराएको र लुकाइएको पैसा बजारमा आउने दावी गरेका छन् । बुधबार अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने बताएका हुन् ।
‘हामी सरकारमा आएपछि हराएको पैसा खोज्न सकिन्छ कि सकिँदैन भन्दाखेरी नीतिगत सुधार गर्नेबित्तिकै बजारमा पैसा आइहाल्छ नि ’, महासचिव पोखरेलको भनाइ छ । उनले कालो धन सेतो हुदैन भन्ने कुरा गर्दिए पुग्ने पनि बताए ।
‘सधैंभरी मान्छेले पैसा लुकाएर राख्छ र ? सरकार चेन्ज हुनेबित्तिकै लुकाएको पैसा बाहिर निस्किहाल्छ’, उनले भने, ‘जुन प्रक्रियामा लान खोजेका छन्, त्यो प्रक्रियामा लान त सम्भव छैन, वैधानिक प्रक्रियामा प्रवेश गर्नैपर्छ ।’ उनले गलत नीति अन्तर्गतको गलत सरकार भएको भन्दै त्यो नीति भएको सरकारबाट मुक्त भएसँगै त्यस प्रकारका प्रवृत्तिमाथि छानविन थालिहाल्ने बताए ।
‘छानविन थाल्नेबित्तिकै डम्पिङ गरेर राखेको पैसा सीज हुन सुरु गर्छ र यो प्रवृत्ति दुरुत्साहित हुन्छ । यो आर्थिक संकट प्रायोजित संकट हो । गलत नीतिको परिणाम हो । नेकपा एमाले आउने वित्तिकै मुलुकलाई आर्थिक रुपमा फेरि हामी सही बाटोमा उभ्याउन सक्छौ भन्ने विश्वास छ’, पोखरको भनाइ छ ।
योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ?
महासचिव पोखरेलले साना दलहरु राजनीतिमा जति हावी हुँदै जान्छन् उति मुलुकले सही बाटो नसमाउने बताए । ‘जति साना दलहरु राजनीतिमा हावी हुन्छन् मुलुकले सही बाटो समाउँदैन । आज के देखिन्छ भने तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्दै भौतारिँदै हिँडिराखेको देख्दा नेपालको लोकतन्त्रले सहि सामात्या छर ?’, पोखरेलले प्रश्न गर्दै भने, ‘जनमतले १२ प्रतिशतको सामर्थ्य राख्दैन, प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुद् या छ ,योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ? लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने हो त्यसैले राजनीतिक धु्रविकरणको कुरा गरेको हो’, पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले कालोधन सेता बनाउन खोज्नेहरूले गभर्नरमाथि आक्रमण गरेको आरोप पनि लगाए । गभर्नरमाथि आक्रमण हुनुमा वित्तिय अराजकता मच्चाउने र कालो धनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दावी पोखरेलको छ । उनले संसद विघटनको बचाउ गर्दै जनतासँग जान खोज्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा बुझ्नुपर्ने बताए ।
गठबन्धनसँग एमालेले चुनाव हारेको सत्य भएपनि काँग्रेस जनमतमा एमाले भन्दा पछाडि रहेको स्वीकार गर्नुपर्ने बताए । स्थानीय चुनावको मत संख्या पेश गर्दै उनले आगामी निर्वाचनमा पनि एमाले आफ्नै शक्तिमा चुनाव लड्ने एमालेको नीति रहेको तर एमालेको नीतिसँग सहमत हुनेहरुले सहकार्य गर्नसक्ने बताए ।
‘नेकपा एमाले असफल भयो भन्ने कुरा आग्रहले होइन इण्डिकेटरले देखाउनुपर्छ । सूचकले बेठीक भन्छ हामी गलत रहेछौ । सबै सूचक सकारात्मक छ भने हामी सही हुन्छौ, सूचकले सकारात्मक देखाइरहेको छ अनि कसरी एमाले असफल हुन्छ ?’पोखरेलको प्रश्न छ । उनले पछिल्लो समय नेकपाका बहुमत सचिवालय सदस्य एकजुट हुनु कुनै अनौठो कुरा नभएको भन्दै त्यसले एमालेको जनमतलाई खासै फरक नपर्ने बताए ।
गठबन्धन रहे एमालेलाई सहज
नेता पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा नेकपा एमालेलाई प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न सक्षम भएको दावी गरे । पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईँहरुका बीचमा राख्न चाहान्छु ।’
उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए । ‘आम चुनावका बेला सत्ताको नेतृत्व विरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लड्न र विजय हासिल गर्न सहज हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसर्थमा आउने निर्वाचन एमालेकै पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले पार्टीको विश्लेषण सुनाए ।
उनले गठबन्धन एमालेलाई रोक्न बाहेक हरेक कुरामा असफल दावी गरे ।
प्रचण्ड–माधव गलत सावित
महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असली उत्तराधिकारी नेकपा एमाले नै भएको पनि बताए । पोखरेलले तत्कालीन नेकपामा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप गलत सावित भैसकेको भन्दै नेकपाभित्रको आन्तरिक अन्तर संघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए ।
‘नेकपाभित्रको अन्तर संघर्षमा केपी ओली र उहाँका पक्षमा उभिएकाहरुमाथि प्रचण्ड र माधव नेपालहरुबाट लगाइए उहाँहरु अलग भइसकेपछि ती आरोपहरू गलत सावित भए’, महासचिव पोखरेलको भनाइ छ । ओलीलाई नेकपाको निरन्तरताको पक्षमा नभएको भनेर आरोप लगाएपनि नेकपाबाट बनेका तीन पार्टीमध्ये प्रचण्ड र माधवले नेतृत्व गरेका पार्टीमा नेकपा नदेखिने बताए ।
‘प्रचण्डको पार्टी हेर्ने हो भने त्यहाँ नेकपा देखिँदैन, माओवादी मात्रै देखिन्छ, माधव नेपालको पार्टीमा पुर्व एमाले मात्रै देखिन्छ’, पोखरेलले भने, ‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको पार्टी छ जहाँ नेकपाको अनुहार देखिन्छ ।’
त्यस अर्थमा वास्तविक उत्तराधिकारी एमाले हो भन्ने पुष्टि हुन्छ भन्दै उनले अध्यादेशको विरोध गर्नेहरुले नै पछि अध्यादेश ल्याएर संसदीय व्यवस्थालाई नै विकृत गर्ने काम गरेको बताए । साथै उनले राजनीतिलाई अदालत लगेर संविधानभन्दा बाहिर गएर शासन गर्ने अवस्था बनाएको बताए ।
केपी ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अघि बढ्दैन भन्ने प्रचण्ड माधवको त्यसबेलाको तर्क पनि अहिले खण्डित भएको पोखरेलको दावी छ । स्थानीय चुनावका माध्यमबाट एमाले ठुलो पार्टी बनेको भन्दै उनले काँग्रेसले २० प्रतिशत ठाउमा एक्लै चुनाव लडेको र ४० प्रतिशत ठाउमा साझेदार खोजेर चुनाव लडेको बताए ।








