कावासोती- ४ हसौरामा छुट जग्गा नापजाँचको काम अघि बढाइने

बोमलाल गिरी 
नवलपुर, फागुन २९ गते । मालपोत कार्यालय नवलपुरले कावासोती नगरपालिका वडा नं. -४ को छुट जग्गा नापजाँचको काम तत्काल अघि बढाउने जनाएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले तत्काल छुट जग्गा नापजाँचको काम अघि बढाइने बताएका हुन् । 
कावासोती नगरपालिका वडा न. ४ (शाबिक शिबमन्दिर गाविस) को नक्सा न. ९/क ९/ख ९/ ग को विवादरहित छुट जग्गा जोत, कमोद तथा बसोबास गर्ने वास्तविक जग्गा धनिको नाममा दर्ता गरिदिन माग गर्दै नगरपालिकाको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
मंगलबार मात्र सरुवा भएर यहाँ आएका सुवेदीले समाचार सेवासँग कुरा गर्दै भने, ”म नयाँ छु, बुझ्दैछु, जनप्रतिनिधिहरुले पनि धेरै कुरा जानकारी गराउनु भएको छ, गहिराइमा पुगेर अध्ययन गरी कदम चालिनेछ ।”
प्रमुख मालपोत अधिकृत सुवेदी घरजग्गा शाखामै बसेर लामो समय काम गरेकाले त्यो अनुभवका आधारमा यहाँको यो जग्गाका बारेमा केही महत्वपूर्ण निर्णय गर्नेमा भूमाफियाबाट पीडित बनेकाहरु आशावादी बनेका छन् ।
नेपाल सरकारको २०८० माघ ११ गते राजपत्रमा प्रकाशित छुट जग्गा दर्ता सम्बन्धि सूचना अनुसार कावासोती-४ हसौराको विवाद रहित छुट जग्गा जोत कमोद बसोबास गर्ने वास्तविक जग्गा धनिको नाममा दर्ता गरिदिनको निम्ति नगर प्रमुख विष्णुप्रसाद भुसालको तर्फबाट वडा अध्यक्ष नारायण लोहनीले ज्ञापन पत्र बुझाएका हुन् ।
लामो समयदेखि हसौराको जग्गामा जोत, कमोद र बसोवास गर्दै आएका यहाँका नागरिक जसको आफ्नो वा एकाघर परिवारको नाममा नक्सा तथा फिल्ड बुक कायम भएकाहरुको छुट जग्गा प्रक्रिया अघि बढाउन नगरपालिकाले आग्रह गरेको छ । कावासोती ४ मा यस्तो प्रकृतिको करिब ३ सय घरधुरीका ६० विगाहा क्षेत्रफल जग्गा रहेको छ ।
नेपाल सरकारले २०८० माघ ११ गते राजपत्रमा सूचना प्रकाशित गरि छुट जग्गा दर्ता प्रक्रिया अघि बढाउन सिफारिस गरेपनि हालसम्म प्रक्रिया अघि नबढेको भन्दै नगरपालिकाले तत्काल वास्तविक जग्गाधनीको नाममा जग्गाधनी प्रमाण पूर्जा पाउने व्यवस्था मिलाइदिन मालपोत कार्यालयलाई अनुरोध गरेको वडाध्यक्ष लोहनीले जानकारी दिए ।
कावासोती-४ को हसौरामा १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएपछि बुधबार समाचार सेवाले ‘भूमाफियाको कब्जामा ७० विघा’ शीर्षकमा समाचार छापेको थियो ।
 ८०९ घरधुरी रहेको कावासोती–४ मा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको पाइएको छ । वर्षौदेखि जोतभोग गरेर बसोबास गरिरहेको भए पनि उनीहरूसँग पुर्जा छैन ।
अध्यक्ष लोहनीले जिल्लाबाहिरका व्यक्तिहरू क्युप्रसाद बस्याल, यज्ञमूर्ति पाठक, काशीनाथ सापकोटा, ठाकुरप्रसाद शर्मा, पर्साबहादुर आले, यदुनाथ पराजुलीलगायतले अवैधानिक तरिकाले जग्गा कब्जा गरेको दावी गरेका छन् ।