पाकिस्तानका ९ स्थानमा भारतीय सैन्य हमला, ७ जनाको मृत्यु, उचित जवाफ दिने पाकिस्तानको चेतावनी

एजेन्सी, बैशाख २४ गते । भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ। भारतको आक्रमणबाट दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकारी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । र बलियो जवाफ दिने चेतावनी दिएका छन् । ‘पाकिस्तानलाई यो भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकताबद्ध छ । हाम्रो मनोबल र सङ्कल्प अटल छ । हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ ।’

पाकिस्तानका जनता र सेना कुनै पनि खतराको सामना गर्न र शत्रुलाई पराजित गर्न पूर्ण रूपमा तयार रहेको प्रधानमन्त्री शरिफले बताएका छन् । ‘शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन,’ उनले भनेको बीबीसीको समाचारमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’