जम्मु कश्मीरको पुंछ सेक्टरमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ । जसमा भारतीय सेनाका एक जवान दिनेश कुमार शर्माको मृत्यु भएको छ।
हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले सेनाका जवान शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।
उनले लेखेका छन्, ’अपरेसन सिन्दूरपछि आज (बुधबार) बिहान जम्मुको पुंछमा भारत माताका वीर सपुत हरियाणाको पलवलका पुत्र, जवान दिनेश कुमार शर्माजीले पाकिस्तानबाट भएको गोलाबारीको साहसपूर्वक सामना गर्दै आफ्नो जीवनको सर्वोच्च बलिदान दिनुभयो।’
’पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौँ’, भारतीय सेनाले एक्समा लेखेको छ। भारतीय सेनाले भनेको छ, ’पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ।’
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको हो।
जसमा २६ जना नागरिकको मृत्यु तथा ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्। त्यसपछि बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।