एजेन्सी, बैशाख २६ गते । पाकिस्तान र भारतबीच लडाइँ तीव्र भएको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका छन् ।
पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।
ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ । भारतले लाहोरमा मिसाईल हानेको छ ।
पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरे पनि भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।
जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको भारतीय मिडियाहरुले जनाएका छन् । यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ ।
आक्रमण तीव्र भएपछि जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसर तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।
सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि भनेका छन् ।
धेरै राज्यमा स्कुल र कलेज बन्द
बिहीबार राति ८:४५ बजे जम्मु सहरबाट हवाई आक्रमणको जानकारी आउन थाल्यो। यसपछि जम्मु, राजौरी, चण्डीगढ, अमृतसर, धर्मशालालगायत धेरै शहरमा ब्ल्याकआउटको घोषणा गरियो।
समाचार एजेन्सी पीटीआईका अनुसार धेरै सीमावर्ती राज्यहरूले ब्ल्याकआउट आदेश जारी गरेका छन् र शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। साथै प्रहरी र प्रशासनिक अधिकारीहरूको बिदा पनि रद्द गरिएको छ।
जम्मु कश्मीरमा स्कुल र कलेजसहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार पन्जाबका शिक्षामन्त्री हरजोत सिंह बैंसले सरकारले आगामी तीन दिनका लागि राज्यका स्कुल, कलेज र विश्वविद्यालय बन्द गर्न आदेश जारी गरेको बताएका छन्।
राजस्थानको श्रीगंगानगर प्रहरीले रेड अलर्ट जारी गरेको छ र सबैलाई घरमै बस्न निर्देशन दिएको छ। पन्जाब, हरियाणा, राजस्थान, दिल्ली, गुजरात, पश्चिम बंगाल र बिहारमा कडा नियम लागु गरिएको छ।
यस्तै चण्डीगढ प्रशासनले हवाई आक्रमणको साइरन सक्रिय पारिएको र ब्ल्याकआउट लागु गरिएको बताएको छ। यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ। धर्मशालामा हुने भनिएको पन्जाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच खेल रद्द गरिएको छ।
लुधियानाका डीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्धकार हुनेछ, घर भित्रै बस्नुहोस् र झ्यालहरू बन्द गर्नुहोस्। आत्तिनु पर्दैन… नक्कली समाचार, भिडिओ र सन्देशबाट सावधान रहनुहोस्।’
आईपीएल खेल रद्द
पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ। मैदानका सबै फ्लडलाइटहरू निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो ।
खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।