बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्ग अवरुध्द

नवलपुर, जेठ २९ गते । गएराति आएको बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडक खण्ड अवरुध्द भएको छ ।

बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहान ८:४५ बजेदेखि यातायात अवरुध्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बर्षातको कारण अचानक पानीको बहाव बढ्न गई डाईभर्सन माथिबाट पानि बगेको कारण बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

खोलाले डाइभर्सन पुरेपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरु होङ्सीगेटबाट सर्दी हुँदै जाने बैकल्पिक सडकबाट पठाईएको र मालबाहक ठुला सवारी साधनहरु दुवैतर्फ एक लाईनमा रोकि राखेको नेपालले जानकारी दिनुभयो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । खोलाले यो डाइभर्सनमा अवरोध गरेको यो चौथो पटक हो । यसअघि तीनपटकसम्म खोलाले डाइभर्सन बगाएको थियो ।

निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताईएको छ । नारायणघाट-बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।