नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।
आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई एक रनले पराजित गरेको हो।
नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ । नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो।
आजै भएको सुपर सिक्सको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले अंक तालिकामा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।
ओमानसँगै समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपालसँग पराजित भए पनि २ अंक भएको यूएई तालिकाको तेस्रो स्थानमा छ।
एसोसियट एल क्लासिको भिडन्तमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो।
यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५८ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरेका अलिसान दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे।
ओपनर जोनाथन फीजी १९ रनमा पेभेलियन फर्के। ध्रुभ परासनले ३२ रन बनाए। १९ औँ ओभरको अन्तिम बलमा ध्रुभ परासरले नन्दन यादवलाई छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो।
यद्यपी अन्तिम ओभरको तेस्रो बलमा सरासरले दिपेन्द्र सिंह ऐरिलाई छक्का हानेपछि नेपाल हारनजिक पुगेको थियो तर चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
पाचौँ ओभरमा हैडर अलीलाई सन्दीप जोराले रन आउट गराएपछि नेपालले केही राहत महसुस गरेको थियो। ओभरको अन्तिम बलमा जैद अली रन आउट भएपछि नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट झारे। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ५६ रनको साझोदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
२६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्सित कौशिकको बलमा एलबीडब्लू धरापमा परे। १९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे।
आशिफ शेख ५१ रन बनाउँदा ध्रुभ पारासरको बलमा बोल्ड आउट भए। ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के।
दिपेन्द्र सिंह ऐरि १ रनमा क्याच आउट भए। गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा नटआउट रहे।