नवलपुर, कात्तिक ९ गते । नवलपुरको देवचुलीमा पोथी गैंडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली-१७ को आँपको बगैंचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।
सूचना अधिकारी थापाका अनुसार बिगत ६/७ वर्ष देखि आँपको बगैंचालाई बासस्थान बनाउँदै आएको उक्त गैंडा बिगत केही समयदेखि बिरामी थियो ।
बिरामी र बूढो रहेको उक्त गैंडालाई यसअघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैंचामा आएर उपचार गरेका थिए ।
मृत फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको थापाले बताउनुभयो । यो सँगै चितवन राष्ट्रिय निकुञ्जमा साउन यता ५ वटा गैंडाको मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैंडा रहेका छन् ।









