दाउन्नेको सडक एकतर्फी सञ्चालन

नवलपुर, कात्तिक १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विशवकर्मा मन्दिर र घिउखोलाको उकालोमा सिमसिम परेको पानीले बाटो चिप्लो भइ गाडी उक्लिन नसक्दा गाडी एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

साथै यो खण्डमा बाटो विस्तारको काम पनि भइरहेकाले बिहान साढे सात बजेदेखि थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । जिल्लाभर बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।

बाटो हिलो र चिप्लो हुँदा उकालो बाटोमा मालबाहक सवारी साधन गुड्न नसकेको नेपालले बताए । बाटो विस्तार भइसकेकाले नारायणघाट–बुटबल सडक खण्डको दाउन्ने बाहेकको अन्यत्र भने यात्रा सहज रहेको प्रहरीले जनाएको छ ।