बोमलाल गिरी
नवलपुर, फागुन १८ गते । काठमाडौं उपत्याका र पहाडी जिल्लाहरुमा आज होली मनाइने भए पनि तराईका जिल्लाहरुमा भोलि १९ गते मात्र होली मनाइन्छ । पहाडी जिल्लाहरुमा भन्दा होलीको रौनक पनि तराईमा बढी हुने गरेको छ । अनि आज राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि शुरु हुँदैछ । त्यसैले होलीको अवसर पारेर मौन अवधिमा निर्वाचन आचार सँहिताको व्यापक दुरुपयोग हुन सक्ने आँकलन सुरक्षा निकायले गरेका छन् ।
फागुन २१ गते मतदानको दिन हो । त्यसको ४८ घण्टा अघि सुरु हुने मौन अवधिमा कुनै पनि उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नपाएने आचार सँहितामा उल्लेख छ ।
तर १९ गते तराइका जिल्लाहरुमा होली मनाउने दिन उम्मेदवार र पार्टीका निर्वाचन चिन्ह अंकित र कतिपय उम्मेदवारको फोटो नै छापिएका टिसर्टहरु बजारमा ल्याउने तयारी भइरहेको आफूहरले जानकारी पाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । होली सांस्कृतिक पर्व भएकाले पर्व मनाउन प्रतिवन्ध लगाउन नमिल्ने भए पनि मौन अवधिमा आचार सँहिता उलंघन गर्नेहरुलाई शुक्ष्म तरिकाले निगरानी गरिएको प्रजिअ पाण्डेले बताए ।
‘‘सेतो टिसर्टहरुमा चुनाव चिन्ह छापेर बजारमा पठाउने तयारी भइरहेको सूचना पाएका छौं, त्यसैले हामीले जिल्लाका सबै चारवटै उद्योग वाणिज्य संघहरुलाई पत्र लेख्दै यस्ता सामाग्री बिक्रि वितरण नगर्न आफ्ना सदस्यहरुलाई भन्नुहोला भनिसकेका छौं,’’ प्रजिअ पाण्डेले भने, ‘‘यति चेतावनीका बाबजुत त्यस्ता सामग्री बेचबिखन भएको र लगाएको पाइएमा तत्काल जफत गरी प्रचलित कानुनबमोजिम कारवाही गर्ने भनिसकेका छौं ।’’
प्रशासनले यस्तो सूचना आफ्नो वेभसाइटमा पनि राखिसकेको जनाएको छ । मौन अवधिमा आचार सँहिता उलंघन गर्ने यस्ता सामग्री बेचविखन गर्ने र लगाउने दुबैलाई कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ । ‘‘बनाउँदै गरेको थाहा पाए त्यहीँ गएर स्रोतमै नियन्त्रण गछौं, गाडीमा ल्याउँदै गरेको थाहा पाए त्यहीँ जपथ गछौं अनि बेच्ने र लगाउने दुबैलाई कारवाही गछौं, प्रजिअ पाण्डेले भने । होलीको दिन उम्मेदवारले होली मनाउन पाए पनि प्रचार गर्न नपाउने उनको भनाइ छ ।
जिल्लाका मुख्य चिर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले पनि होलीमा हुन सक्ने मौन अवधि उलंघनको विषयलाई गम्भीर रुपमा लिएर त्यही अनुसार सुरक्षा निकाय परिचालन गरिने बताउनुभयो । अहिले पनि मौखिक रुपमा केही आचार सँहिता उलंघनका उजुरीहरु परे पनि कारवाही नै गर्ने अवस्थाका उजुरी भने नपरेको उनको भनाइ छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ४७ हजार प्रत्यक्ष र एक लाख ५४ हजार समानुपातिक तथा क्षेत्र नम्बर २ मा एक लाख ४१ हजार प्रत्यक्ष र त्यति नै समानुपातिक मतपत्र आइसकेको ज्ञवालीले बताए ।
शसस्त्र, जनपथ र निर्वाचन प्रहरी गरी तीन हजारभन्दा बढी र पाँच सय नेपाली सेना परिचालन गरिने प्रजिअ पाण्डेले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि एक हजार आठ सय ६९ जना कर्मचारी परिचालन गरिने र दुई सय ५६ जना जगेडामा राख्ने गरी कर्मचारी व्यवस्थापनको तयारी पुरा भएको पाण्डेले बताए । निर्वाचनको मितिभन्दा ४ दिन अघि नै निर्वाचन स्थलमा कर्मचारीहरु खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधि बढाइएको बताए ।
प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ वटा र क्षेत्र नं. २ का लागि ५६ वटा गरी १ सय १४ वटा निर्वाचन स्थल कायम भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३७ हजार ८१ मतदाता र २ मा १ लाख ३१ हजार ४ सय ४५ जना मतदाता रहेका छन् ।









